लेखा तथा प्रशासनमा जनप्रतिनिधिले लगाए ताला



जनकपुरधाम : जिल्ला समन्वय समिति धनुषाको प्रशासकीय अधिकृतको रबैयाबाट आजित भएर जनप्रतिनिधिले कार्यालयको प्रशासनिक कामकाज बन्द गरि ३ वटा फाँटमा ताला लगाएका छन् ।

जिसस धनुषाका प्रशासकीय अधिकृत कन्हैया कुमार मिश्रले आफुखुशी कामकाज गर्न थालेपछि जनप्रतिनिधिले लेखा तथा प्रशासन फाँटमा ताला लगाएका हुन् ।

प्रशासकिय अधिकृत मिश्रले बोर्ड समितिका पदाधिकारीहरुलाई नै आफु मातहत रही कामकाज गर्नुपर्ने दवाब श्रृजना गर्दै आएको कर्मचारीहरुको आरोप छ । मिश्रले विभिन्न फाँटमा कार्यरत्त संघ मातहतका कर्मचारीलाई आफ्नै मनले विदा दिई ताला लगाएर हिँडेपछि कार्यालयको काम काज नै ठप्प भएको छ ।

जिसस धनुषामा प्रशासकीय अधिकृत कन्हैया कुमार मिश्रले प्रमुख र उपप्रमुखसंग विवाद गरेपछि मनोमानी ढंगले कार्यरत्त ३ जना कर्मचारीले ज्वरो लागेको भन्दै विदा फारम भरेर घरमै बसेका छन् । जिसस धनुषाका प्रमुख रामदेव वनरैत यादवले प्रशासकीय अधिकृत कन्हैया कुमार मिश्रले संघको कर्मचारी रहेकोले आफुले भनेको कुरा गर्नुपर्ने भन्दै एकाएक विभिन्न फाँटमा तालाबन्दी गरी हिडेको आरोप लगाए ।

उनले भने,‘प्रशासकीय अधिकृत मिश्रले निर्वा्चित जनप्रतिनिधिलाई धाकधम्की दिंदै संघको कर्मचारी मातहत रही कामकाज गर्न दवाव दिएको र कार्यालय समयमै संघका कर्मचारीहरुले आ-आफ्ना फाँटमा ताला लगाई कार्यालयलाई अलपत्र छाडी हिडेपछि हामी बोर्डको वैठक बसि प्रमुख जिल्ला अधिकारी समक्ष गएका थियौँ ।’ प्रशासकीय अधिकृत मिश्रमाथि मनोमानी ढंगले कार्यालय समयमा उपस्थित नहुने र अधिकांश दिन कार्यालय नै नआई अटेरी गर्ने गरेकाले सम्पूर्ण कामकाज प्रभावित भएपछि आफुहरुले कर्मचारीलाई निर्देशन दिँदै दैनिक हाजिर हुनुपर्ने र कार्यालयलाई प्रभावित नपार्न भनेपछि उनीहरुले आफै विदा लिएको जिसस धनुषाका उपप्रमुख दिपक झाले बताए ।

प्रमुख बनरैत र उपप्रमुख झासहित बोर्डको वैठकमै प्रशासकीय अधिकृत मिश्रले सरोकारवालालाई वेवास्ता गर्दै संघका कर्मचारी आशुतोष ठाकुर, खरिदार अविनाश कुमार कर्ण, सब-ईन्जिनीयर राजीव कुमार कर्ण लगायतकाले विदा फारममा ज्वरो लागेको भन्दै विदा लिएको देखिएको छ ।
उनीहरुको सो विदा प्रशासकीय अधिकृत कन्हैया कुमार मिश्रले स्वीकृत गरेका छन् तर मिश्र भने आफू विदा भने लिएका छैनन् । यसअघि प्रशासकीय अधिकृत मिश्र जिल्ला प्रशासन कार्यालय धनुषामा हुँदा प्रमुख जिल्ला अधिकारीसंग विवाद गरेपछि उनलाई जलेश्वर कारागारमा पठाइएको थियो ।

त्यहाँ एक महिना नवित्दै उनीमाथि भ्रष्टाचारको आरोप लगाउँदै महोत्तरीवासीले उनको कार्यशैलीको विरोध गरेपछि उनी केहि महिनापछि धनुषाको हँसपुर नगरपालिकामा आए । तर त्यहाँ समेत उनले विवाद गरेपछि उनी टिक्न सकेनन् । जिसस धनुषामा रवाना लिई उनी जनकपुर आएको एक महिना नबित्दै फेरि विवादित गतिविधिमा लागेको आरोप लगाईएको छ ।

प्रतिक्रिया दिनुहोस्