कोरोना त्रास : सीमामा उच्च सतर्कता



सप्तरी : भारतीय सीमासँग जोडिएको सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) प्रवेश गर्न नदिन उच्च सतर्कता अपनाएको छ ।

गाउँपालिकाअन्तर्गतको सबै निकायमा कर्मचारी तथा सेवाग्राहीलाई संस्था प्रवेश गर्नुअगावै साबुनपानीले अनिवार्यरूपमा हात धुने व्यवस्था मिलाउनुका साथै प्रत्येक स्वास्थ्य संस्थामा आउने सेवाग्राहीको तापक्रम मापन गरी रेकर्ड राख्न थालिएको छ ।

सोका लागि गाउँपालिकाअन्तर्गतको सबै निकायमा आज स्यानेटाइजर र प्रचार सामग्री पठाइएको विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले बताए । सबै वडामा बिहीबारबाट माइकिङमार्फत कोरोनासम्बन्धी सन्देश प्रवाह गर्न शुरु गरिएको छ ।

जनस्वास्थ्य आपतकालीन व्यवस्थापन उपसमितिको बैठकले तिलाठी कोइलाडी गाउँपालिका–८ स्थित प्राथमिक स्वास्थ्य केन्द्र तोपाको एउटा कोठालाई सङ्क्रमण निवारण गरी दुई श्ययाको निगरानीकक्ष तयारी गर्ने निर्णय गरेको छ ।

वडा नं १ बेल्ही भन्सारमा रहेको स्वास्थ्य सहायता कक्षलाई थप प्रभावकारी बनाउन बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म र दिउँसो १२ बजेदेखि साँझ ७ बजेसम्म दुई सिफ्टमा स्वास्थ्यकर्मीलाई परिचालन गर्ने भएको छ ।

माघ २५ गतेदेखि सञ्चालन गरिएको सहायता कक्षमा आजसम्म करिब दुई हजार ५०० जनाको परीक्षण गरिएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक दीपक मण्डलले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्