कार्यालय र सार्वजनिकस्थलमा कोरोना सचेतता अपनाइँदै



महोत्तरी : विश्वव्यापी सन्त्रास बनेको कोरोना भाइरस भित्रिन नदिन महोत्तरीका सार्वजनिकस्थलमा सचेतनाकक्ष सञ्चालनमा आएका छन् । जिल्लाका सबैजसो सरकारी, गैरसरकारी कार्यालय, अस्पताल, मन्दिर/मस्जिदसहितका धार्मिकस्थल, स्थानीय तहका कार्यालय र सार्वजनिकचोकमा सचेतनाकक्ष सञ्चालन गरिएका छन् ।

जिल्लाका भारतीय सीमावर्ती मुख्यनाका मटिहानी र भिठ्ठामोरमा स्वास्थ्यकर्मी र उपकरणसहितको ‘हेल्थ डेस्क’ सञ्चालन गरिएको छ । यसबाहेक बाक्लो आवतजावत हुने खैरवनी, सम्सी, गैढाभेटपुर, पोखरभिण्डा, शिशवाकटैया, बथनाहा, मधवा, नैन्ही, मुसरपट्टी र पर्सापतैलीसहितका भारतसँग सीमा जोडिएका नाकामा स्वास्थ्य जाँच गर्ने, कोरोना भाइरस सङ्क्रमण हुन नदिन अपनाइनुपर्ने सचेततासम्बन्धी सल्लाह दिने गरिएको जिल्लाका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।

अहिले जिल्लाका सबै स्थानीय तहका कार्यालय र अन्य जनसरोकारका कार्यालयमा साबुनपानीले हातधुने व्यवस्था र कोरोना भाइरस सङ्क्रमण भित्रिन नदिन पु¥याउनपर्ने सचेततासम्बन्धी हातेपर्चा वितरण गर्न थालिएका छन् । यो कामलाई धार्मिकस्थल, बजारचोकसहितका सार्वजनिकस्थलमा विस्तार गरिँदै लगिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । पूर्वसचेतताकै लागि सीमा क्षेत्रमा हुने खुला आवतजावत नगर्न सजगता अपनाइएको छ ।

यसैगरी प्रदेश नं २ को प्रदेश स्वास्थ्य निर्देशनालयले प्रदेशभित्रका आठवटै जिल्लाका भारतीय सीमावर्ती नाकाका बाक्लो आवतजावत हुने ठाउँमा हेल्थ डेस्क सञ्चालनमा ल्याएको छ । यसक्रममा महोत्तरीबाहेकका धनुषाको जटही, सिरहाको माडर र ठाडी, सर्लाहीको सोनवर्षा, सप्तरीको कुनौली र छिन्नमस्ता, रौतहटको बैरगनियाँ एवं पर्साको वीरगञ्जस्थित नाकामा हेल्थ डेस्क सञ्चालनमा ल्याइएको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य अधिकृत विजयकुमार झाले जानकारी दिए ।

त्यसैगरी प्रदेशभित्रका अस्पतालमध्ये जनकपुर प्रादेशिक अस्पताल र जानकी मेडिकल कलेज, वीरगञ्जस्थित नारायणी अस्पताल र नेशनल मेडिकल कलेज एवं सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा ‘आइसोलेसन वार्ड’को व्यवस्था गरिएको झाको भनाइ छ । प्रदेश स्वास्थ्य निर्देशनालय जनकपुरधामले मानिसको बढी जमघट हुने धार्मिकस्थल, बसपार्क र विमानस्थलमा पनि स्वास्थ्यकक्ष राख्ने निर्णय गरेको छ । भाइरस सङ्क्रमणको आशङ्का लागेका व्यक्तिका लागि क्वारेन्टाइन स्थापना गर्न ठाउँको खोजी भइरहेको निर्देशनालयले जनाएको छ ।

यसबाहेक कोरोना भाइरस रोकथामका लागि प्रदेशभित्र उच्चस्तरीय अनुगमन तथा तत्काल सहायताका लागि विज्ञ चिकित्सक, प्रदेशस्तरका विश्वस्वास्थ्य सङ्गठन, राष्ट्रसङ्घीय जनसङ्ख्या कोष र राष्ट्रसङ्घीय बालकोषसहितका संस्थाका प्रतिनिधिसम्मिलित समिति गठन गरेर काम अघि बढाइएको वरिष्ठ स्वास्थ्य अधिकृत झाले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्