कोरोना भाइरसको सन्त्रास पत्रकारहरु के गर्ने के नगर्ने ?



काठमाडौं : कोरोना भाइरसको संक्रमण रोक्न सरकारले तीव्र तयारी गरिरहेका बेला नेपाल पत्रकार महासंघले सञ्चार कर्मीका लागि आचार संहिता जारी गरेको छ ।

महासंघले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै पत्रकारहरुका लागि आचार संहिता नै जारी गरेको हो । कोरोना भाइरसका सन्दर्भमा अफवाह फैलाउने गरी भ्रमपूर्ण समाचार आइरहेको जनगुनासोलाई सम्बोधन गर्दै महासंघले विभिन्न बुँदा समेटेर आचारसंहिता जारी गरेको हो ।

महासंघले पत्रकारलाई कोरोना संक्रमणविरुद्ध अग्रपंक्तिका योद्धा भएको बताउँदै ‘सुरक्षित रही सही सूचना सम्प्रेषण गर्न’ अपिल गरेको हो । महासंघले समाचार सम्प्रेषण गर्दा ध्यान दिनुपर्ने बुँदामा कसैलाई लाञ्छित गर्ने गरी समाचार नलेख्न भनेको छ । ‘कोभिड-१९. कोरोना, भिआई.भाइरस, डी.डिजिजर १९ भन्नाले सन् २०१९ मा उत्पन्न भाइरस हो’ महासंघले पहिलो बुँदामै भनेको छ, ‘यसको नामाकरण गर्दा नै कसैमाथि लाञ्छना नलाग्ने गरी गरिएको हो । त्यसैले यस भाइरसलाई कुनै देश, क्षेत्र वा समुदायसँग मात्र जोडेर लेख्ने, बोल्ने, देखाउने नगरौं ।’ यस्तो छ महासंघले जारी गरेको आचार संहिता

कोरोना २०१९ मा उत्पन्न भएको भाइरस हो । यसको नामाकरण गर्दा नै कसैमाथि लाञ्छना नलाग्ने गरी गरिएको हो । त्यसैले यस भाइरसलाई कुनै देश, क्षेत्र वा समुदायसँग मात्र जोडेर लेख्ने, बोल्ने, देखाउने नगरौं ।
आम मानिसले बुझ्ने सजिलो भाषामा कोरोना संक्रमणसम्बन्धी सत्य तथ्य सूचना सम्प्रेषण गर्दा उनीहरुको बुझाई सुध्रिने र त्रास कम हुने वातावरण बन्छ । आधा अधुरो जानकारीले त्रास र संक्रमितप्रति विभेद बढाउने काम मात्र गर्छ । त्यसैले आधिकारिक स्रोत र विषयविज्ञहरुबाट मात्र सूचना लिऔं ।
सामाजिक सञ्जालमार्फत् पनि यस्ता सूचना प्रवाहित गरौँ । हामीले दिने सही सूचनाले धेरैतिरबाट आउने गलत सूचनाको प्रतिकार हुन सक्छ । कोरोना भाइरसका बारेमा प्रसस्त चर्चा गरौं, सूचना लिउँ र दिउँ, कोरोना भाइरस लागेका वा लागेको हुन सक्ने पर्याप्त सम्भावना भएका मानिसहरुका बारेमा लेखौं ।
तर, कसैलाई पनि कोरोना भाइरसको शंका भएकै आधारमा शंकास्पद कोरोना संक्रमित जस्ता शब्द प्रयोग नगरौं । संक्रमितको व्यक्तिगत गोपनियतामा असर पुग्ने गरी समाचार सम्प्रेषण नगरौं । कसैलाई कोरोना लागेको छ वा कोरोनाको सम्पर्कमा आएका छन् भन्ने स्पष्ट आधार र प्रमाण छ भने लेखौं ।
तर, कसैलाई पनि उसका कारणले कोरोना सर्न सक्ने वा उसले कोरोना फैलाउन सक्ने भन्ने जस्ता लाञ्छना नलगाऔं । कसैलाई अपराधिकरण गर्ने वा लाञ्छना लगाउने भाषाले त्यो व्यक्ति वा समुदायले आफूले गल्ती गरेको वा आफू अपराधी भएको महसुस गर्न सक्छ ।
हामीले लाञ्छना लगाउँदा कसैलाई थप मानसिक पीडामा पारिरहेका हुन सक्छौं भन्ने कुराको ख्याल गरौं । वैज्ञानिक तथ्य र तथ्याङ्कका आधारमा मात्र कोरोना भाइरसका बारेमा लेख्ने गरौं । कुनै पनि अनाधिकृत सूचना वा हल्लाहरुलाई सञ्चार माध्यममा स्थान नदिऔं र आफ्ना व्यक्तिगत सामाजिक सञ्जालहरुमा पनि शेयर नगरौं ।
सरकार तथा अन्य आधिकारिक स्वास्थ्य निकायहरुले दिएका सुझावहरुलाई पालना गरौं र आधिकारिक सूचना मात्रै सम्प्रेषण गरौं । कोरोना भाइरस रोकथाम तथा उपचारका बारेमा सकारात्मक समाचारहरुलाई प्राथमिकता दिऔं । साना साना कदमहरुले मात्रै पनि हामी आफू र सबैलाई सुरक्षित राख्न सक्छौं । सकारात्मक समाचारहरुले मानिसको मनोबल बढाउन सक्छ । नकारात्मक सन्देश तथा त्रास फैलाउन सक्ने सूचनाहरु सम्प्रेषण नगरौं ।
संक्रमणको महामारी भन्दा सूचनाको महामारी चाँडो फैलन्छ । यसले मानिसहरुमा त्रासको वातावरण सृजना गर्छ भने संक्रमित र बढी संक्रमण देखिएका क्षेत्रका मानिसहरुप्रति भेदभावको अवस्था पनि सृजना हुन सक्छ । संक्रमणमा परेका व्यक्ति वा बढी प्रभावित समुदाय वा क्षेत्रलाई हामी सबैको सहयोगको खाँचो छ । सबैभन्दा जोखिममा रहेका समुदाय र व्यक्तिको सुरक्षाका लागि अन्य निकायसँग सहकार्य आवश्यक छ ।

कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि गर्नुपर्ने प्रभावकारी रोकथामका उपायहरुका बारेमा सूचना सम्प्रेषण गरौं ।

साथै, सीघ्र स्वास्थ्य जाँच र उपचारले हुने फाइदाका बारेमा पनि प्रकाशन प्रसारण गरौँ । गलत सूचना प्रवाह, बुझाईमा कमजोरी र अतिरञ्जनापूर्ण प्रचारले एकातर्फ विभेद र लाञ्छनाको अवस्था सृजना गरिरहेको हुन्छ भने अर्कोतिर संक्रमण रोकथामका लागि हुने कामहरुमा बाधा पुर्याइरहेको छ ।

यस्तो अवस्थामा मानिसहरु आत्तिनु स्वभाविक हो तर गलत प्रचारले त्रासलाई झन् बढी फैलाइरहेको छ । त्यसैले संक्रमणबारे सत्यतथ्य बुझ्ने प्रयास गरौं र अरुलाई पनि बुझाऔं । रोकथामका उपायहरुको प्रचार प्रसार गरौं । साथै चाँडो जाँच र उपचार गर्दा जीवन जोगिने कुरा पनि सबैलाई बताऔं । संक्रमणलाई थप फैलिनबाट रोक्न र बढी संक्रमणमा रहेका समुदाय वा क्षेत्रमाथि हुन सक्ने अस्वाभाविक विभेद कम गर्न संचार क्षेत्रको भूमिका महत्वपूर्ण छ ।

त्यसैले संक्रमणमा परेका व्यक्ति, समुदाय वा क्षेत्रका बारेमा सकारात्मक सूचना सम्प्रेषण गरौं । उनीहरुका मानवीय पक्ष र विषयहरुलाई समाचारको विषयवस्तु बनाऔं । साथै संक्रमणविरुद्ध अग्रभागमा रहेका (स्वास्थ्यकर्मी, स्वयंसेवी, आदि) प्रति सहयोग पुग्ने र उनीहरुलाई प्रोत्साहन हुने खालका समाचार सम्प्रेषण गरौं ।

त्रास होइन तथ्यले मात्र संक्रमण रोक्न सहयोग पुग्छ । त्यसैले संक्रमणका बारेमा सत्य तथ्य समाचार मात्र प्रकाशन, प्रसारण गरौं र भ्रामक सामग्रीलाई खण्डन गर्ने खालका सूचना सम्प्रेषण गरौं । शब्द प्रयोगमा ध्यान दिऔं । हामीले समाचार दिने तरिकाले अरुको व्यवहारलाई प्रभाव पारिरहेको हुन सक्छ ।

कोरोना प्रभावित भई निको भइसकेका व्यक्तिहरु, आफूलाई सुरक्षित राख्दै कोरोना प्रभावितहरुको उपचार र हेरचाहमा संलग्नहरुका समाचार र अनुभूति प्रकाशन प्रसारण गर्दा कोरोना लागि हालेपनि निको हुनसक्छ भन्ने सन्देश जान्छ । कोरोनाको उपचार र रोकथाममा संलग्न स्वास्थ्यकर्मी र अग्रपंक्तिमा काम गर्ने अन्य अहिलेका ‘हिरो’ हुन् ।

उनीहरुलाई सम्मान गरौं र उनीहरुका सकारात्मक समाचार सामग्री सम्प्रेषण गरौं । कोरोनाको महामारी फैलिनबाट रोक्न र यस प्रक्रियामा योगदान गरेका नागरिक, नागरिक संस्था, सरकारले गरेका सकारात्मक कार्यहरुलाई मिडियामा उचित स्थान दिने गरौँ । यसले अन्य व्यक्ति र निकायलाई पनि यस प्रक्रियामा लाग्न प्रोत्साहन गर्न सकोस् ।

-आफू सुरक्षित रही समाचार सम्प्रेषण गरौँ ।
-कार्यस्थल (कार्यालय वा फिल्ड) मा जाँदा रोकथामका आधारभूत उपायहरु अपनाऔँ ।
-सकेसम्म इमेलमार्फत् रिपोर्ट फाइल गरौँ ।
-सञ्चारगृहहरुले सम्भव भएसम्म घरबाटै काम गर्ने वातावरण मिलाऔँ ।
-अत्यावश्यक बाहेकका भेटघाटहरु नगरौँ ।
– समय समयमा साबुन पानीले हात धुने गरौँ ।
-अनावश्यक रुपमा हातले आँखा, नाक मुख छुने नगरौँ ।
-भेटघाटमा हात मिलाउने अंकमाल गर्ने भन्दा नमस्कार गर्ने गरौँ ।
-सकेसम्म भिडभाड हुने स्थानहरुमा नजाऔँ ।
-श्रोतहरुसँग सूचना लिँदा सकेसम्म टेलिफोन वा अनलाइन माध्यमको प्रयोग गरौँ ।
-सरकार वा आधिकारिक निकाय तथा संस्थाहरुले जारी गर्ने सूचना र जानकारीलाई आधार मानौँ ।

प्रतिक्रिया दिनुहोस्