संसद्को बजेट अधिवेशन आजबाट सुरु 



बजेट अधिवेशन

काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ । अधिवेशनको पहिलो बैठक आज दिउँसो दुई बजे सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बस्ने छ । आज पहिलो दिनको बैठक भएकाले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र र प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी ब्यहोराको पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउने कार्यसूची रहेको छ ।

यसै गरी सभामुखले बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयनको जानकारी पनि गराउने छन्  बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रण विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश पनि हुने छ । यसै गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार यही बर्खे अधिवेशनमा आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनका साथै आर्थिक, विनियोजन र राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत हुने छ ।

सरकारले प्रत्येक वर्ष जेठ १५ गते वार्षिक आय–व्ययको अनुमानित विवरण प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सो व्यवस्थाअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको बैठक आजका लागि आह्वान गरेका थिए ।

निर्वाध सदन सञ्चालनका निम्ति सभामुख देवराज घिमिरेले संसद्मा प्रतिनिधित्व गरेका पाँच राजनीतिक दलका शीर्ष नेतासँग मङ्गलवार बैठक गरेका थिए ।

तर सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने उपर छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएको नेपाली काँग्रेस र गर्न नहुने पक्षमा रहेका सत्ता साझेदार दलका नेताहरू आ–आफ्नै अडानमा कायम रहेपछि बैठक निष्कर्षविहीन भएको थियो ।

प्रमुख विपक्षी दल काँग्रेसले संसदीय समिति गठनको माग गर्दै लामो समयसम्म संसद् अवरोध गरेपछि सरकारले हिउँदे अधिवेशन अन्त्य गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्