मन्त्रालयको बजेट दुरुपयोग गरी मन्त्री साह बने भोजपुरी कार्यक्रमको प्रायोजक



जनकपुरधाम : प्रदेश २ को सामाजिक विकास मन्त्री नवल किशोर साहले मन्त्रालयको बजेट रकम दुरुपयोग गरेको पाइएको छ ।

विश्व कोरोना भाईरसको त्रासबाट गुज्रिरहेको समयमा मन्त्री साह र उनको मन्त्रालय भने एक रेडियोबाट प्रसारित हुने भोजपुरी कार्यक्रमको प्रायोजक बनेर अनाधिकृत रुपमा बजेट दुरुपयोग गरेको देखिएको हो ।

सामाजिक विकास मन्त्रालयले शिक्षा र स्वास्थ्यमा लगानी गर्नुपर्नेमा एक सामुदायिक एफ.एममा भोजपुरी कार्यक्रमको प्रायोजन गरि रकम दुरुपयोग गरेको छ ।

जनकपुरधामस्थित रेडियो जनकपुर ९७ मेगाहर्जबाट दैनिक दिउँसो ४ बजेदेखि साँझ ५ बजेसम्म प्रसारण हुने भोजपुरी कार्यक्रम ‘भोजपुरिया रसमु’को प्रायोजकमा सामाजिक विकास मन्त्रालय र मन्त्री साहको नाम कार्यक्रम प्रस्तोताले सुरुमै उच्चारण गरेर कार्यक्रमको शुरुवात गरेको सुनिन्छ ।

कार्यक्रम प्रस्तोता रानीले कार्यक्रमको शुरुवात गर्दै भनेकी छिन्, ‘हेल्लो फ्रेन्डस गुड आफ्टरनून नमस्ते नमस्कार रौवा लोगैन सुनरहल बानी रेडियो जनकपुर ९७ मेगाहर्ज । और सामाजिक विकास मन्त्रालय माननीय मन्त्री नवल किशोरद्वारा प्रायोजित कार्यक्रम भोजपुरिया रसम लेके उपस्थित बानी हम रानी ।’ भन्दै कार्यक्रमको शुरुवात गरेकी हुन् ।

यस सम्बन्धमा सामाजिक विकास मन्त्रालयका निमित्त सचिव दिलीप ठाकुरले आफुलाई यस बिषयमा केहि जानकारी नरहेको प्रतिक्रिया दिएका छन् ।

प्रदेश सरकार कार्यविभाजन नियमावली २०७४ अनुसार प्रदेशको सामाजिक विकास मन्त्रालयलाई स्वास्थ्य,शिक्षा,महिला,वालवालिका,ज्येष्ठ नागरिक,अपाङ्ग,सामाजिक सुरक्षा,भाषा संस्कृति, पुरातत्व, युवा तथा खेलकुद, श्रम तथा रोजगारसंग सम्वन्धित विषयहरुको जिम्मेवारी तोकिएको हो।

यस मन्त्रालयको कार्यक्षेत्रभित्र रहेका विभिन्न विषयहरुको प्रदेश स्तरिय कानून,नीति, मापदण्डहरुको निर्माण गर्नुपर्ने भएकोले मन्त्रालयलाई यिनै विषयहरुमा केन्द्रित हुनुपर्ने देखिन्छ ।

प्रदेशका जनताको शिक्षा,स्वास्थ्य,खेलकुद लगायत मन्त्रालयसंग सम्वन्धित विभिन्न विषयको कानून,नीति नियम,मापदण्ड निर्माण तथा कार्यक्रमको कार्यान्वयनवाट समग्र सामाजिक क्षेत्रको विकास गरी स्वस्थ्य,शिक्षित,सक्षम एवं उद्यमशिल नागरिक तयार गरी प्रदेशको विकासमा योगदान गर्दै समृद्ध प्रदेशको निर्माणमा योगदान पुर्याउनु यस मन्त्रालयको मुल उदेश्य हो ।

तर यी सबै नीति,नियम र कानूनहरुको धज्जिया स्वयं यस मन्त्रालयका मन्त्रीले नै उडाएको यस भोजपुरी कार्यक्रमको प्रायोजनबाट प्रष्ट भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्