चार दर्जन मन्दिर बनाउने मुस्लिम सांसदको घोषणा



रौतहट: रौतहटका एक प्रदेश सांसदले चार दर्जनभन्दा बढी मन्दिर बनाउने घोषणा गरेका छन्। रौतहटको संसदीय निर्वाचन क्षेत्र नम्बर ४ को प्रदेशसभा अन्तर्गतका सम्पूर्ण विद्यालयमा आगामी ५ वर्षमा सरस्वती मन्दिर बनाउने घोषणा प्रदेश सांसद शेख अबुल कलाम आजादले गरेका छन्।

प्रदेश सांसद आजादले आफ्नो निर्वाचन क्षेत्रको दुईवटा माध्यमिक विद्यालयमा सरस्वती मन्दिर निर्माणको थालनी गरेका छन्। गढीमाई नगरपालिकाको समनपुरमा रहेको शंकर गुदर मावि र गरुडा नगरपालिकाको गरुडामा रहेको श्री माविमा सरस्वती मन्दिरको निर्माणको कार्य अगाडि बढाएका छन्। समनपुरमा रहेको माविमा सरस्वती मन्दिरको शिलान्यास भइसकेको छ भने मावि गरुडामा एक समारोहबीच मन्दिर निर्माणको लागि पाँच लाख रुपैयाँ दिने घोषणा गरेका छन्।

आफ्नो क्षेत्रमा रहेका माध्यमिक विद्यालयलाई तत्काल केन्द्र विन्दूमा राखेर सरस्वती मन्दिर निर्माण थालिएको प्रदेश सांसद आजादले बताएका छन्। सरस्वती मन्दिर नभएका दुई माविमा मन्दिर निर्माणको काम अगाडि बढाइएको र हरेक वर्ष क्रमशः मन्दिर निर्माण गर्ने योजना रहेको उनले बताए।

आफू भारत विहारको शिवहर जिल्लामा माध्यमिक तहमा अध्ययन गर्दा मुस्लिम समुदायको भएर पनि सरस्वती पूजाको समितिको अध्यक्ष बन्ने गरेको स्मरण गर्दै प्रदेश सांसद आजादले सरस्वती भनेका वाणीकी देवी भएकीले आफू दुई शब्द राख्न सक्ने भएको बताए। आफू मुस्लिम समुदायको भए पनि सरस्वतीप्रति आस्था राख्ने गरेको बताउँदै प्रदेश सांसद आजादले आफू निर्वाचित भएपछि सबैभन्दा पहिले विद्यालयहरुमा सरस्वती मन्दिर बनाउने घोषणा गरेअनुरुप विभिन्न विद्यालयमा काम थालिएको स्पष्ट पारे। सांसद आजादको क्षेत्रमा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक गरी करिब चार दर्जन विद्यालय रहेका नागरिकमा खवर छ । 

प्रतिक्रिया दिनुहोस्