कोभिड–१९ : भीमाद नगरपालिकामा आपतकालीन कोष



दमाैली : कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिम न्यूनीकरणका लागि तनहुँको भीमाद नगरपालिकाले आपतकालीन कोष खडा गरेको छ । सो भाइरसका बारेमा सर्वसाधारणलाई सचेतना जगाउन नगरपालिकाले रु तीन लाख बजेट व्यवस्था गरी कोष सञ्चालनमा ल्याएको छ ।

वडाभर सचेतना कार्यक्रम सञ्चालनका लागि कोषमा रकम जम्मा गरिएको नगर प्रमुख मेखबहादुर थापाले जानकारी दिए । नगरवासीलाई सो भाइरसको सङ्क्रमणबाट सुरक्षित बनाउन प्रत्येक वडामा समिति गठन गरी सचेतनामूलक कार्यक्रमलाई अगाडि बढाइएको उनले बताए ।

सो भाइरस सङ्क्रमित भएको भेटिए तत्काल उपचारका लागि व्यवस्था मिलाउने जनाएको छ । “कोभिड–१९ को सङ्क्रमण भएको शङ्का लाग्नेबित्तिकै स्वास्थ्य संस्थामा लैजाने व्यवस्था मिलाउने छौँ”, थापाले भने । नगरपालिकाको खर्चमा नै शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा सम्भावित विरामीलाई उपचार गर्न आइसोलेसन कक्ष स्थापना गरिएको छ ।

आइसोलेसन कक्षको निरीक्षण

जिल्लाका सुरक्षा निकायका प्रमुखले सो केन्द्रमा निर्माण गरिएको सो कक्षको निरीक्षण गरेका छन । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारी नेतृत्वको टोलीले उपचार केन्द्रमा निर्माण गरिएको कक्षको निरीक्षण गरेका हुन ।

सो अवसरमा केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले आइसोलेसन कक्षको बारेमा प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएका थिए । उपचार केन्द्रमा १२ श्ययाको आइसोलेसन कक्ष निर्माण गरिएको छ ।

उपचार केन्द्रको तेस्रोतलामा जनरल वार्डको उत्तरतर्फ आइसोलेसन कक्ष छ । उपचार केन्द्रका तीन स्वास्थ्यकर्मीलाई कोरोनाको नमूना सङ्कलन गर्न तालिम दिइएको छ । “शङ्कास्पद बिरामी आएमा घाँटीको तल्लो भागको स्वाबको नमूना सङ्कलन हुनेछ, उक्त स्वाब तत्कालै काठमाडौँ पठाएर परीक्षण गर्ने व्यवस्था मिलाएका छौँ”, उनले भने । उनका अनुसार ४८ घण्टाभित्र सो भाइरसको सङ्क्रमण भए÷नभएको प्रतिवेदन आउनेछ । रासस

प्रतिक्रिया दिनुहोस्