बीउ नपाउने कृषक, अब बीउ व्यापारी



जाजरकोट : गहुँको बीउका लागि कृषि कार्यालय तथा नगरपालिका धाउने भेरी नगरपालिका–१ कालेगाउँका कृषक अहिले आफैँ मूल बीउ उत्पादनमा जुटेका छन् । गहुँको बीउमा आत्मनिर्भर भई अन्य जिल्लालाई समेत निर्यात गर्ने उद्घोषका साथ बीउ उत्पादनमा लागेको ५४ वर्षीय कृषक मनबहादुर बस्नेतले बताए । उनी अहिले दैनिक गहुँको मूल बीउ उत्पादनका लागि खेतबारीमा मेहेनतका साथ लागिरहेका छन ।

बीउको हेरचाहदेखि उत्पादनको हिसाब गर्दै उनका दिन बित्ने गर्दछन् । बस्नेतले गहुँसँगै आलुखेती गरेका छन । मूल बीउको उत्पादन राम्रो बनाई आम्दानी गर्नका लागि बस्नेत दैनिक खेतबारीमा खटिने गर्छन । उनीजस्तै कालेगाउँका अधिकांश कृषकको खेतबारीमा गहुँको मूल बीउ उत्पादन भइरहेको छ ।

भेरी नगरपालिकाले उपलब्ध गराएको मूल बीउ यहाँका कृषकको खेतबारीमा अहिले हराभरा भएर पाक्ने तरखरमा छ । वर्षेनी तरकारी र खानाको लागि ठिमाह गहुँ लगाउने यहाँका कृषक यो वर्ष नगरपालिकाले मूल बीउ उत्पादन गर्न अनुरोध गरेपछि आफैँ बीउ उत्पादनका लागि खटिएका हुन् ।

नगरपालिकाले गहुँको बीउका लागि पकेट क्षेत्र घोषण गरी बीउ उत्पादन गरिरहेको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले जानकारी दिए । उनका अनुसार बीउ उत्पादनका लागि सुहाउँदो माटो कालेगाउँमा भएकाले कृषकलाई अनुदानमा बीउ वितरण गरी मूल बीउ उत्पादन गर्न आकर्षित गरिएको हो ।

नगरपालिकाले नगरभरिको माटो जाँच गरी कुन ठाउँमा कुन बाली उत्पादनका हिसाबले राम्रो हुन्छ भन्ने तथ्याङ्कका आधारमा कालेगाउँलाई गहुँको मूल बीउ उत्पादनका लागि पकेट क्षेत्र घोषणा गरी काम थालिएको थियो ।

कालेगाउँमा उत्पादन गरिएको बीउ जिल्लाका अन्य ठाउँमा निर्यात गर्ने लक्ष्य राखिएको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले जानकारी दिए । उनले भने, “कृषकको जीवनस्तर माथि नउठी, समृद्ध समाज र सुखी नेपालीको नारा सफल हुँदैन, त्यसैले हामी कृषकको जीवनस्तर उकास्न चाहन्छौँ”, नगरप्रमुखले थपे “बीउमा आत्मनिर्भर हुनका लागि यो अभियान सञ्चालन गरिएको छ, पाँच हेक्टर क्षेत्रफलमा बीउ उत्पादनका लागि पहिलो चरणमा काम भएको छ ।”

जेटिए पढ्नेलाई अभ्यास गर्न सजिलो

कालेगाउँमा कृषिजन्य वस्तु उत्पादनका हिसाबले नमूना मानिन्छ । कृषि जेटिएसमेत पढाइ हुने यो ठाउँमा यहाँका सबै विद्यार्थी कालेगाउँका खेतबारीमा अभ्याससमेत गर्न पाएका छन् । पढ्दै, सिक्दै गरेका शिव व्यावसायिक माध्यमिक विद्यालयका विद्यार्थीका लागि सीप सिक्ने गतिलो आधार भएको प्रधानाध्यापक तिलकबहादुर खत्रीले जानकारी दिए ।

कृषक र विद्यार्थीबीचमा उत्पादन वृद्धि कसरी गर्ने र कसरी प्राङ्गारिक मल प्रयोग गर्नेसम्मका कुरा एकापसमा ज्ञान आदानप्रदानसमेत हुने गरेको प्रअ खत्रीले बताए । जैविक विषादी निर्माणका विषयमा समेत व्यापक छलफल हुने गरेको छ ।

नगर कृषि शाखाबाट समेत कालेगाउँको पकट क्षेत्रको समय–समयमा जाँच हुने गरेको शाखाका भोला खत्रीले जानकारी दिए । नगरपालिकाको कृषकमैत्री गतिशील योजनालाई सफल बनाउन सबै मिलेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ । विगत पाँच वर्षभन्दा अगाडिदेखि यहाँका कृषक तरकारी खेतीमा आत्मनिर्भर भई मनग्य कमाउँदै आएका छन् । तरकारीका लागि नयाँ–नयाँ जातको खोजी गरी आधुनिक खेती प्रणाली अपनाउने कार्यमा आफूहरु लागिपरेको अगुवा कृषक दलबहादुर खत्रीले जानकारी दिए ।

हामीले मेहेनत मात्र गर्नुप-यो, पैसा आफैँ हातमा आउँछ”, उनले भने, “रोजगारी पाएनौँ भनेर रुनु पर्दैन, मात्र मेहेनत गरेर व्यवसाय गरे हामी कहिले पनि अर्काको भरमा पर्नु पर्दैन ।” वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको गाउँसमेत रहेको कालेगाउँमा सिँचाइको सुविधा राम्रो छ । जिल्लाको तरकारी तथा खाद्यान्न उत्पादनका हिसाबले अव्बल स्थान ओगट्ने कालेगाउँले आफ्नो परिचय फेरिसकेको छ । रासस

प्रतिक्रिया दिनुहोस्