मिलन चाम्सले पनि छोडे ‘ब्याचलर बन्टी’



काठमाडौं : नायक अनमोल केसीले ४५ लाख पारिश्रमिकमा साइन गरेको फिल्म ‘ब्याचलर बन्टी’ को निर्माण पक्षलाई दुई हप्ताअगाडि सम्झौतापत्र फिर्ता गरेका थिए । यतिबेला निर्देशक मिलन चाम्सले पनि यो फिल्मलाई छोडेका छन् । अनमोलले रोल चित्त नबुझेको कारण देखाउँदै फिल्म छाडेपछि निर्देशक चाम्सले पनि हात झिकेका हुन् ।

 

चाम्सले अब आफूले कुनै पनि हालतमा ‘ब्याचलर बन्टी’ मा काम नगर्ने जानकारी दिएका छन् । उनले आफैंले निर्देशन गरेको फिल्म ‘बोबी’ को दोस्रो भाग निर्माणमा जुट्ने उनले बताएका छन् । यस फिल्मको छायांकन चैतमा सुरु गर्ने उनको तयारी  छ ।

 

उनले मिडियाप्रति गुनासो गर्दै भने, ‘यहाँ मिडियाले पनि स्टारकै मात्र कुरा सुन्ने रहेछ । मिडियामा अनमोलको भनाइमात्र आयो तर निर्देशक र निर्माताको भनाइ बुझ्न आवश्यक ठानिएन । अनमोलले फिल्म छाड्नुको वास्तविक कारण भुवन दाइ (भुवन केसी), अनमोल र मलाई मात्र थाहा छ ।’

 

यो फिल्म चलचित्र विकास बोर्डमा निर्देशक चाम्स र निर्माता सुदीप खड्काको ब्यानरमा दर्ता छ । निर्देशक चाम्सले फिल्म नगर्ने भएपछि निर्माता सुदीपले भने ‘ब्याचलर बन्टी’ कै स्क्रिप्टमा अभिनेता प्रदीप खड्कालाई लिएर यसअघि नै विकास बोर्डमा दर्ता भएको टाइटल ‘सोलीडोली’ बनाउन लागेको चर्चा छ ।

 

केही दिनअगाडि निर्माता खड्काले नायक प्रदीपलाई ‘ब्याचलर बन्टी’ अफर गरेको खुलासा गरेका थिए । दुईबीच फिल्मलाई लिएर केहीपटक कुरासमेत भइसकेको छ । प्रदीप फिल्म गर्न राजी भए निर्माता खड्का ‘ब्याचलर बन्टी’ को स्क्रिप्टमा फिल्म ‘सोलिडोली’ बनाउन तयार छन् ।

 

तर, प्रदीपलाई फिल्म अफर गरेको विषयमा निर्देशक चाम्स भने अनविज्ञ रहेछन् । फेसबुकमा एक स्टाटस लेख्दै उनले भने, ‘कसले कुन नायकलाई फिल्म अफर गर्छ त्यो मलाई पत्तै हुन्न । तर, मलाई मुछ्ने काम नगरौं न प्रभु ।’ उनले अहिले आफूले घरकै प्रोजेक्ट गर्नुपर्ने बताएका छन् ।

 

विशेष स्रोतका अनुसार ‘ब्याचलर बन्टी’ अनमोलले नगर्ने भएपछि निर्माता सुदीप र स्क्रिप्ट राइटर प्रदीप भारद्वाजसँग चाम्सको सम्बन्ध राम्रो छैन । यसअघि प्रदीपले लेखेको कथामा बनेको फिल्म ‘लिलिबिली’ मा मिलन र सुदीपले सहकार्य गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्