दुवै हात र एउटा खुट्टा गुमाएका हरिकाजीलाई आर्थिक सहयोग जुट्दै 



खोटाङ: विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लागेर दुवै हात र एउटा खुट्टा गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका हरिकाजी ढुङ्गानालाई आर्थिक सहयोग जुट्न थालेको छ। नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रले खटाएको कार्यक्षेत्रमा विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लागेर दुवै हात र एउटा खुट्टा गुमाएका उनकोे बिचल्ली भएको समाचार सार्वजनिक भएपछि सहयोग रकम जुट्न थालेको हो।

 

ढुङगानाका लागि युट्युव सञ्चालक शिशिर भण्डारीको पहलमा गलकोट समाज जापानबाट सङ्कलित रु चार लाख, हङकङमा रहेका माल्बुल प्रेमी र साथीबाट सङ्कलित रु ४५ हजार, काठमाडौँका लीला घिमिरेको पहलमा कर्मचारीलगायत अन्य व्यक्तिबाट सङ्कलित रु ६१ हजार ७०० र  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले पनिरु ५० हजार परिवारलाई प्रदान गरेकोे आफन्त झमप्रसाद आचार्यले बताए।

 

एघार केभी क्षमताको विद्युत् लाइन मर्मत गर्ने क्रममा विसं २०७० चैत १६ गते ३७ वर्षीय हरिकाजीलाई करेन्ट लागेर अपाङ््ग भएपछि आश्रित बुबाआमा र बालबच्चाको बिचल्ली भएको थियो। हरिकाजीका हातगोडा फालिएपछि उनका कामाइमा आश्रित सबै परिवार सहाराविहीन बनेका समाचार सार्वजनिक भएको थियो। अहिले उनीहरुको घरमा चुल्हो बाल्नसमेत धौधौ परेको छिमेकीहरू बताउँछन्। हरिकाजीको उपचारका क्रममा लिइएको ऋण फिर्ता माग्नेहरु अहिले दैनिकजसो घरमा आउने गरेको श्रीमती सीता ढुङ््गानाले बताइन्।

 

उनको उपचारको क्रममा अहिलेसम्म ३७ लाख रुपैयाँभन्दा बढी खर्च भएकामा विद्युत् प्राधिकरणले २६ लाख रुपैयाँ उपलब्ध गराएको थियो। करेन्ट लागेर बेहोस भएपछि हरिकाजीलाई उद्धारपछि उपचारका लागि तत्कालै काठमाडौँ लगिएको थियो।  काठमाडौँको बिएण्डबी अस्पतालमा  सन्त माथेमासहितका चिकित्सकले उपचारका क्रममा दुवै हात र एउटा दाहिने खुट्टा काटेर फालिएको थियो। दुर्घटनाको समयमा श्रीमतीको पेटमा भएको छोरा अहिले साढे तीन वर्ष पुगेको  छ भने पहिलो छोरी ११ वर्षकी छिन्। बुबाआमा दुवै ८५ वर्ष नाघेका हरिकाजीका सम्पत्तिको नाममा केही पाखो बारीमात्र छ। 

प्रतिक्रिया दिनुहोस्