तामाङ सांस्कृतिक महोत्सव हुने



काठमाडौ :  तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होछार–२८५५ को अवसरमा टँुडिखेलमा दुईदिने तामाङ सांस्कृतिक महोत्सवको आयोजना गरिने भएको छ ।

राष्ट्रिय सोनाम ल्होछार–२८५५ फाग्ड्वाल्हो सुँगुर वर्ष मूल समारोह समितिद्वारा मङ्गलबार आयोजित कार्यक्रममा सोनाम ल्होछारकोे अवसरमा यही माघ २१ र २२ गते टुँडिखेलमा सांस्कृतिक महोत्सवको आयोजना गरिने जानकारी दिइएको हो ।

नेपाल तामाङ घेदुङ, राष्ट्रिय तामाङ घेदुङलगायत सयभन्दा बढी संघ संस्थाको सहभागितामा आयोजना गरिने सांस्कृतिक महोत्सवमा मैत्रीपूर्ण ल्होछार कप फुटवल प्रतियोगिता, ताम्वा बोन्वो लामासहितको झाँकी निकालिने जानकारी दिइएको छ ।

तामाङ समुदायमा विभिन्न जनावरलाई प्रतीकात्मक मानेर १२ वटा वर्ग (वर्ष) गन्ने प्रचलन रहेकोमा यस वर्ष कुकुर वर्षलाई बिदाइ गरी सुँगुर वर्ष प्रारम्भ हुने छ । यही माघ २१ गते साँझ ६ बजेदेखि नयाँ वर्षका रूपमा टुँडिखेलमा भव्यताका साथ मनाउने तयारी पूरा भएको राष्ट्रिय तामाङ घेदुङका अध्यक्ष वीरबहादुर लामाले जानकारी दिए ।

नेपाल तामाङ घेदुङका महासचिव बाबु घिसिङले सोनाम ल्होछार सांस्कृतिक महोत्सवमा भेषभूषा, तामाङ खानपिन, पुस्तक प्रदर्शनी, तामाङ गीत, नृत्य, तामाङ साहित्यको पनि प्रस्तुति रहने बताए । 

प्रतिक्रिया दिनुहोस्