अब रेस्टुरेन्ट र बारले सेवा शुल्क लिन नपाउने



काठमाडौं: मुलुकभर सञ्चालित रेस्टुरेन्टले लिँदै आएको सेवा शुल्क खारेज भएको छ । रेस्टुरेन्ट व्यवसायीको संस्था रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) को बैठकले अब कुनै पनि रेस्टुरेन्टले सेवा शुल्क नलिने निर्णय गरेको हो । रेबानका अध्यक्ष प्रमोद जैसवालले व्यापार तथा व्यवसायमा उपभोक्ताको लागत कम गर्न भन्दै यस्तो निर्णय गरिएको जानकारी दिए । यसअघि रेस्टुरेन्ट तथा बारको बिलमा १० प्रतिशत सेवा शुल्क जोडिएर आउँथ्यो । त्यसरी आएको रुपैयाँ मजदुर र उनीहरूका भ्रातृ संगठनले भागबन्डा लगाउने व्यवस्था गरिएको थियो ।

रेबानमा आबद्ध रेस्टुरेन्ट तथा बारहरूमा यो निर्णय मंगलबारदेखि नै लागू हुनेछ । यद्यपि सफ्टवेयर बिलिङ प्रणाली भएकालाई भने केही समय लाग्नेछ । रेबानको यो निर्णयसँगै ठूला होटल र पार्टी प्यालेसलाई पनि दबाब पर्ने भएको छ ।

पछिल्लो समय सामाजिक सुरक्षाकोषबाट मजदुरको सुरक्षा भएको र स्वैच्छिक रूपमा दिने टिप्सलाई कुनै पनि बन्देज नलगाएकाले मजदुरलाई असर नपर्ने रेबानले जानकारी गराएको छ । यसले कामदार र व्यवसायी दुवैलाई फाइदा हुने रेबानले जनाएको राजधानीमा खवर छ  ।

प्रतिक्रिया दिनुहोस्