विद्युत तार लत्रियो, करेन्टको जोखिममा स्थानीय



जनकपुर : जनकपुरधाम उपमहानगरभित्र जथाभावी लत्रिएको बिजुली तारले स्थानीय वासिन्दालाई चिन्तित बनाएको छ ।

जनकपुरको मुख्य बजार मात्र होइन वडा नम्बर २४ को बसहिया, वडा २० को देवपुरा (रुपैठा) लगायत उपमहानगरका अधिकांश वडामा विजुलीको तार जथाभावी लत्रिएको छ । त्यसबाट करेन्ट लाग्नसक्ने हुँदा स्थानीय बासिन्दालाई चिन्तित बनाएको हो । 

बसहियाको मुख्य चौकमा रहेको शिव मन्दिरको छतहुँदै गएको ११ हजार भोल्टको बिजुलीको तार हरियो रुखमा छोएको छ र त्यस रुखमा करेन्ट प्रवाह हुने गरेको स्थानीय विजय साह बताउँछन । साहका अनुसार बिद्युत प्राधिकरणलाई बारम्बार जानकारी दिंदा समेत समस्या समाधान नगरिएको स्थानीय वासिन्दाको गुनासो छ । 

शिव मन्दिरका पुजारी शिवशरण दास बाबाले रुखमा कति पटक करेन्ट प्रवाह भएर आफैलाई झटका लागेको जानकारी दिए । उनले पनि सम्बद्ध निकायमा जानकारी गराइए पनि अझसम्म सुनुवाइ नभएको  बताए । विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्रमा गएर नै गुनासो गरे पनि समस्या समाधान नभएको अर्का वासिन्दा जोगिन्दर साहले बताए । 

धनुषामा एक साताभित्र विद्युतीय तारमा करेन्ट प्रभाव हुँदा आठ जनाको मृत्यु भएको छ भने डेढ दर्जनबढी घाइते भएका छन् । यस्ता हृदयविदारक घटनाका वावजूद पनि नगरभित्र जथाभावी रुपमा विद्युतीय पोलमा देखापरेको जथाभावी तारलाई व्यवस्थित गर्नेतर्फ सम्बन्धित निकायको ध्यान गएको छैन ।

उपमहानगरपालिकाको कार्यालय भित्रिने मुख्य बाटोमै यस्तो समस्या रहेको छ । तर त्यसप्रति नत उपमहानगरपालिकाले चासो देखाएको छ नत विद्युत प्राधिकरणले सचेतता अपनाएको छ । प्रदेश–२ को एक तथ्याङ्कअनुसार गत छ महिनामा ४५ जना विद्युत करेन्ट लागेर मृत्यु भएको छ । 

यहाँका विभिन्न गाउँ र शहरका गल्लीगल्लीमा विजुलीका तार जथाभावी लत्रिएको देख्नसकिन्छ । त्यतिमात्र होइन विद्युत खम्बाहरु जीर्ण अवस्थामा छ । हावा चल्दा जीर्ण ख्रम्बा हल्ल्निे र ढल्ने जस्तो गर्छ । विद्युत करेन्ट प्रवाह भएर आगो नै लाग्ने गरेको छ । विद्युत प्राधिकरण वितरण शाखा कार्यालयले लत्रिएका तार, पुराना पोल व्यवस्थापन गर्न चासो दिएको छैन । 

लत्रिएको विजुलीको तारबाट करेन्ट लागेर शुक्रबार धनुषाको सबैला नगरपालिकाको बाल्टियामा छ जनाले ज्यान गुमाएका थिए । एक दर्जनभन्दा बढी व्यक्ति घाइते भए । लत्रिएको विजुलीका तारबाट करेन्ट लागेर जनकपुर उपमहानगरमा यही माघ ५ गते दुई युवाको मृत्यु भएको थियो । 

लत्रिएको तार व्यवस्थान गर्न विद्युत् कार्यालयलाई स्थानीयले जानकारी दिएका थिए । तर, कर्मचारीले त्यसमा कुनै चासो देखाएनन् । प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार छ महिनायता करेन्ट लागेर ४५ जनाको मृत्यु भइसकेको छ । प्राधिकरणले विद्युत प्रयोगबारे उपभोक्तामा सचेतना कार्यक्रम सञ्चालन गर्छ न त लत्रिएका तार र जीर्ण पोल व्यवस्थापनमा ध्यान दिन्छ ।

विद्युत् चुहावट नियन्त्रण गर्न कम्मर कसेर लाग्ने कर्मचारी लत्रिएको तार र ढल्न लागेका पोल व्यवस्थानमा पटक्कै ध्यान न दिएको वडा अध्यक्ष जानकी राम साह भन्छन ‘एक पटक पोल गाडेर तार जडान गरिसकेपछि विद्युत कार्यालयले कहिल्यै मर्मत गर्दैन’, उनले भने, ‘कर्मचारीको चरम लापरवाहीले गर्दा अनाहकमा आमनागरिकले ज्यान गुमाउनुपरेको छ ।’ प्राधिकरणको लापरवाहीले करेन्ट लागेर ठूला मानवीय क्षति भइरहेकोप्रति जनप्रतिनिधिले पनि सम्बन्धित स्थानमा आवाज उठाउन नसकेको जनगुनासो व्याप्त छ ।

यद्यपि नेपाल विद्युत प्राधिकरण जनकपुर वितरण शाखा प्रमुख सूर्यनारायण मण्डलले भने हिले लत्रिएको तार र पोललाई मरम्मत गर्ने कार्य द्रुत गतिमा बढ़ाएको बताउँछन । उनले भने परिक्रमा क्षेत्र बाहिर समस्याहरु कम देखिए पनि नगरभित्र पिन हटाएर डिक्स लगाउने कार्य गर्दैआएको जनाए । मंगलवार मात्रै पीडारी चौक, मुजेलियामा डिस्क जडान गÞरिएको उनले स्पष्ट पारे ।

यसअघि लक्ष्मीनिया, जमुनिया सहितका स्थानमा पोललाई ठीक बनाइएको उनले बताए । यस्तै आँखा अस्पताल छेउको बाटोमा रहेको पोल हटाउन पनि कर्मचारीलाई निर्देशन दिएको उनले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्