घर धितो राखेर बनाइएको मुर्ति निशुल्क वितरण



विराटनगर: मोरङ केरावारी ९ भलुवाका मुर्तिकार श्याम गौतम छिनो र हथौडाको सहायताले ढुँगा कुँदिरहेका थिए । ढुँगा कुदेर मुर्तिको आकार दिइरहेको अवस्थामा भेटिएका उनी आफ्नो काममा गर्व गर्छन । मुर्तिकलामा माहिर गौतमले देविदेवता, विभिन्न क्षेत्रमा योगदान दिने व्यक्ति, समाजसेवी र साहित्यकारका आकृति ढुँगा कुँदेर उतारिसकेका छन् र निशुल्क प्रदान गर्ने गरेका छन् ।

‘राष्ट्रका लागि केही गरौं भन्ने उदेश्यले १० वर्ष अघिदेखि यही काममा व्यस्त छु,’ ४३ वर्षीय गौतमले भने, ‘२०६५ सालबाट सुरु गरेको ढुँगा घोट्ने कामले अहिलेसम्म निरन्तरता पाइरहेको छ ।’ कसैको प्रतिमा  दुरुस्तै बनाउन सक्ने कलालाई प्रत्यक्ष नियालेका सबैले उनको कलाको खुलेर प्रशंसा गर्छन । संखुवासभाको पाँचखपन ८ पोख्राङमा जन्मिएका गौतम २०५९ सालमा मोरङको बेलबारीमा बसाई सरे । बेलबारी झरेको छ वर्षपछि २०६५ सालबाट उनले मुर्ति बनाउने काम सुरु गरेका हुन् ।

‘राष्ट्र र आफ्नो जन्मभूमिलाई उपहार दिने योजनाका साथ मुर्ति बनाउने अभियान थालेको हुँ,’ उनले भने, ‘आफ्नै खर्चमा मुर्ति बनाएर निःशुल्क बाँडिरहेको छु ।’ गौतमले अहिले सम्म एक सय ५० प्रतिमा बनाएर वितरण गरिसकेका छन् । उनले घर र जग्गासमेत धितो राखेर मुर्ति बनाउने कामलाई निरन्तरता दिएको बताए । बेलबारीमा रहेको ११ धूर जग्गा र घर १६ प्रतिशत व्याजमा तीन पटकसम्म बैंकमा राखेर ऋण लिएको उनले बताए ।

‘म घरजग्गा धितो राखेर लिएको ऋण मुर्ति बनाउन खर्चन्छु । श्रीमती फलफुल बेचेर कमाएको पैसाले बैंकमा राखेको घर जग्गाको ब्याज तिर्छिन्,’ उनले भने, ‘मेरो यो काममा श्रीमतीको धेरै ठूलो सहयोग छ । साथीभाई र शुभचिन्तकबाट पनि भरपुर सहयोग मिलेको छ ।’ उनले घरजग्गा धितो राखेर लिएको ऋणले मुर्ति बनाएर सार्वजनिक स्थल, तिर्थस्थल र पार्कहरुमा निःशुल्क प्रदान गरेको बताए । उनले ओखलढुँगा, खोटाङ, संखुवासभा, भोजपुर, धनकुटा, मोरङ, कास्की, सुनसरी, झापा लगायत बिभिन्न जिल्ला पुगेर विभिन्न व्यक्तिका प्रतिमा र देविदेवताका मुर्ति बनाइ बितरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्