रोजगारीमा विदेश जानेहरु : एकजनादेखि एक लाखसम्म



काठमाडौं :  सन् २०१८ मा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर विदेसिने नेपालीको संख्या ५ लाख ४८ हजार ७ सय ९६ रहेको छ । यसरी श्रम स्वीकृति लिई विदेश जानेहरुमा अधिकांश सरकारद्वारा खुल्ला गरिएको देशमा गएका छन् भने केही अन्य देशमा पनि गएका छन् ।

सरकारले वैदेशिक रोजगारीका लागि संस्थागत रुपमा नेपालीलाई जानका लागि एक सय १० वटा देश खुल्ला गरेको छ । तर व्यक्तिगत रुपमा भने अरु देशमा पनि नेपाली रोजगारीका लागि गएका छन् । 

सन् २०१८ मा सबैभन्दा धेरै नेपाली कतार गए । कतारमा रोजगारीका लागि जाने नेपालीको संख्या एक लाख ७६ हजार ९३ रहेको छ । २०१८ मा नेपालीको दोस्रो रोजाइमा युएई पर्यो । युएई जाने नेपाली गत वर्ष एक लाख १३ हजार ५ सय १७ जना छन् । तेस्रो नम्बरमा परेको साउदी अरबमा एक लाख ५ हजार ३ सय ४० जना नेपाली गए ।

नेपालीको पहिलो रोजाइमा रहेको मलेसिया झण्डै ९ महिनादेखि बन्द रहे पनि २०१८ मा सबैभन्दा धेरै नेपाली जाने चौथो मुलुक बनेको छ । सरकारले गत जेठ मलेसिया कामदार जान बन्द गर्नुपहिले लगभग चार महिनाकै अवधिमा ८५ हजार ३ सय २३ जना नेपाली मलेसिया पुगेका थिए । कुवेतमा गत वर्ष २६ हजार ७ सय ५९ नेपाली रोजगारीका लागि गएका छन् ।

 

१३ वटा देशमा एकएक जना नेपाली 

यी देशहरु बाहेक अन्य केही देश पनि छन् जहाँ नेपाली रोजगारीको सिलसिलामा पुगे । गत वर्ष विश्वका १३ देशमा एकएक जना नेपाली रोजगारीका लागि गए भने सातवटा देशमा दुईदुई जना नेपाली मात्र पुगेका छन् ।

एकजना मात्र नेपाली जाने देशमा भानुआटु, उरुग्वे, तुर्कमेनिस्तान, सुरिनेम, मालाबो, लिथुवानिया, लाओ, कंगो, इथिओपिया एरिट्रिया, पूर्वी टिमोर, कुक आइसल्यान्ड र बारबाडोस छन् । यी देशमा जान १३ नेपालीले श्रम स्वीकृति लिएर गएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

त्यस्तै रोजगारीका लागि दुईजना नेपाली गएका देशहरु ब्रिटिस भर्जिन आइसल्यान्ड, चिली, रिपब्लिक अफ माकेडोनिया, रुवान्डा, मौरिटानिया, लाओस र डोमिनिकन रिपब्लिका छन् । ब्रिटिस भर्जिन आइसल्यान्ड र चिलीमा एक महिला एक पुरुष र बाँकी ५ देशमा दुईदुई जना पुरुष रोजगारीका लागि पुगेका हुन् ।

विभिन्न सातवटा देशमा तीनतीन जना नेपाली रोजगारीका लागि पुगेका छन् । बेल्जियम, बहामास, उज्वेकिस्तान, स्पेन, मारोक, लिउटुवा र म्यानमारमा तीन–तीन जना नेपाली रोजगारीका लागि गएको वैदेशिक रोजगार विभागले जनाएको छ । यी देशहरुमा सेवा क्षेत्रमा रोजगारीका लागि जानेहरुलाई जोखिम नरहेको विभागले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्