बाँच्‍नुपर्ने बेला



अमेरिकाले अझै स्वास्थ्य र जीवनभन्दा अर्थतन्त्र ठूलोजस्तो सोचिरहेको देखिन्छ। तर, जनताको सुस्वास्थ्य नै देशको सबैभन्दा ठूलो पुँजी हो।


म जापानबाट संयुक्त राज्य अमेरिकाको मासाच्युसेट्सस्थित हार्वर्ड विश्वविद्यालयमा आएको झन्डै आठ महिना भयो। संसारको व्यवस्थित र विकसित भनिने÷ठानिने अमेरिका भद्रगोल बन्न पुगेको छ।

सिंगो विश्व कोरोना भाइरससँग जुधिरहेको छ। कोरोना भाइरस हामी कति बहादुर छौं भनेर परीक्षण गर्ने विधि हैन। जब कोरोना भाइरस चीनमा देखाप¥यो, यसलाई अमेरिका तथा युरोपेली मुलुकले बेवास्ता गरे। अमेरिकामा यो सर्वप्रथम न्युयोर्क, क्यालिफोर्निया र वासिङटन राज्यमा देखापरेको रहेछ। अमेरिकी नेतृत्व तहले त्यति बेला नेपालले जस्तै कदम चाल्न ढिला ग¥यो र अझै गर्दै छ। फलस्वरूप यहाँ कोरोना संक्रमण फैलिँदो छ। मानिसको जीवन अर्थतन्त्रभन्दा ठूलो हैन। तर, यस्तो लाग्दै छ, अमेरिकी सरकारले मानिसको जीवन र अर्थतन्त्रमा अर्थतन्त्रलाई रोज्न खोज्यो। त्यसो नहुँदो हो त उनीहरूले न्युयोर्क र क्यालिफोर्नियालाई तत्काल लकडाउन गर्नुपथ्र्याे। नेपालको हकमा अहिले जे गरिएको छ त्यो काम सही दिशामै छ। तर, यति हो यो काम दुई साताअघि गर्न सकेको भए जोखिम र सन्त्रासको मात्रा कम हुन जान्थ्यो।

अमेरिकाको दाँजोमा पछिल्ला दिनमा नेपालमा चाँडै सरकार गम्भीर भएको देखिन्छ। नेपाल सरकारले गरेको कार्य ठीकै देखिन्छ। तर, एक नागरिकका रूपमा हामीले पनि के बुझ्नुपर्छ भने सरकारले गरे पनि नगरे पनि सावधानी अपनाउनुपर्ने हरेक नागरिकले हो। नेपाली नागरिकमा चाहिं आफू नपरी नचेत्ने स्वभाव भएकाले हुन सक्छ, लकडाउनमा पनि भेला भएको सुनियो। अमेरिकामा स्वास्थ्य बिमाले नसमेटिएकाहरू धेरै छन्। बिमा नभएकाको उपचारमा अन्योल नै छ।

अमेरिकाले चीन र युरोपको हवाई यातायातमा प्रतिबन्ध लगाए पनि आफ्नै मुलुकभित्र त्यो काम अझै गरेको छैन। एकबाट अर्काे राज्यमा निर्बाध आवागमन भइरहेको छ। त्यसैले अमेरिका अहिले यसको महँगो मूल्य चुकाइरहेको छ। यसबाट नेपाल र नेपालीले पाठ सिक्नै पर्छ।

अमेरिकाका विभिन्न राज्यका गभर्नरले संकटकाल घोषणा गर्न सक्छन्। न्युयोर्क र क्यालिफोर्निया राज्यले संकटकाल घोषणा गरेका छन्। अन्य केही राज्यमा पनि क्रमशः संकटकाल र आंशिक लकडाउन गरिएको छ। ट्रम्प सरकार कम संवेदनशील भएको भनी आलोचना हुन थालेपछि बल्लतल्ल प्रतिपक्षीको सहमतिमा राहत दिने गरी विधेयक पारित भएको छ।

यहाँका धेरै विद्यालयले आफ्नो अधिकार प्रयोग गरी पठनपाठन स्थगन या वैकल्पिक व्यवस्था गरेका छन्। विश्वविद्यालयहरूले पढाइ स्थगन गरी विद्यार्थीलाई घर पठाएका छन्। उनीहरू अप्रिल ३० सम्म घरै बस्नेछन्।

विश्वविद्यालयले पढाइ अनलाइनबाट गर्ने व्यवस्था मिलाएको छ। हामीले अनलाइनबाटै पढाउनुपर्छ। विद्यार्थीले पनि घरमै बसेर अनलाइन सामग्रीमा पहुँच राख्छन्। एमआईटी र हार्वर्ड विश्वविद्यालयले घर जान सम्भव विद्यार्थीलाई घर पठाउने र सम्भव नहुनेका लागि छात्रावासमै सेल्फ क्वारेन्टाइनको व्यवस्था गरेका छन्।

मासाच्युसेट्समा २५ जनाको मृत्यु भइसकेको छ भने १८ सयभन्दा बढीमा संक्रमण फैलिएको छ। हार्वर्डका अध्यक्ष र उनकी श्रीमतीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। क्वारेन्टाइनमा बसेका उनले आफूमा संक्रमण देखिएपछि तुरुन्तै हामी सबै सहकर्मीलाई इमेल पठाए। नेपालमा भने सरकारले नै संक्रमण लुकाएको खबर आउनु चिन्ताजनक छ, यो कसैले नलुकाऔं।

हामी नागरिकले सावधानी अपनाएनौं भने संसारभरकै स्थिति भयावह हुन सक्ने खतरा छ। समाधानका लागि यहाँ पनि कुनै जादूको छडी छैन। नेपाल सरकारले अपनाएजस्तै विधि हो। म पनि ११ दिनदेखि सेल्फ क्वारेन्टाइनमै बसेको छु। अनलाइनबाट सामान मगाउँछु। जानै परे भीडमा जान्नँ। नेपाली दाजुभाइ–दिदीबहिनीलाई मेरो के आग्रह छ भने, यो आन्दोलनको जस्तो कफ्र्यु हैन। त्यति बेला कफ्र्यु तोड्नु बहादुरी मानिन्थ्यो होला तर यति बेला लकडाउनको अवज्ञा गर्नु कायरता हो। आफू त खतरामा पर्नु हो नै, अरूलाई पनि खतरामा पार्नु हो।

नेपालमा भीडभाड कम भएन भने संक्रमण फैलिन्छ नै, फैलियो भने नियन्त्रण गर्न धेरै कठिन हुन सक्छ। त्यसैले अनुशासित भएर घरभित्रै बसिदिए धेरै राम्रो। जति हामी भीड कम गर्छाैं उति छिटो साधारण जीवनशैलीमा फर्किन सक्छौं। कृपया यसै गरिदिनुस्।

तर, यो लकडाउनले दिनगन्तीमा ज्याला लिएर छाक टार्ने गरिब जनतामा धेरै असर परेको छ। उनीहरूका लागि सरकारले तत्काल व्यवस्था गर्नुपर्छ। उद्योगी व्यापारीले सरकारी राहत कोषमा करोड सहयोग घोषणा गरेर अर्काे बाटोबाट अर्ब–खर्ब सहुलियत असुल्ने गर्नुहुँदैन। सरकार वा अन्य संस्थाप्रति विरोध वा असहमति होलान्। विरोधै गर्न पनि सर्वप्रथम हामी बाँचेको हुनुपर्छ। अहिले सबै मिलेर त्यही बाँच्ने र बचाउने त्यही काम गरौं।

अमेरिकाले अझै मान्छेको स्वास्थ्य र जीवनभन्दा अर्थतन्त्र ठूलोजस्तो सोचिरहेको देखिन्छ। नेपाल सरकारले यस्तो सोचेको छैन र नसोचोस्। जनताको सुस्वास्थ्य नै देशको सबैभन्दा ठूलो पुँजी हो। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा डा. कमल लामिछानेले लेखेका छन् ।

(हार्वर्ड विश्वविद्यालयका भिजिटिङ स्कलर लामिछानेसँग विमल आचार्यको कुराकानी)

प्रतिक्रिया दिनुहोस्