गाउँपालिकाले दियो चामल, आलु र नुन



तम्घास : गुल्मीको धुर्कोट गाउँपालिकाले अतिविपन्न परिवारलाई राहत वितरण शुरु गरेको छ । गाउँपालिकाको वडा नं ७ वाग्लाबाट शुरु गरिएको राहत वितरण अन्तर्गत मङ्गलबार वाग्लाका ६० अतिविपन्न वर्गलाई प्रतिपरिवार २५ किलो चामल, पाँच किलो आलु, एक किलो नुन र एक पोका तेल वितरण गरेको वडाध्यक्ष हिमप्रसाद पन्थीले जानकारी दिए ।

राहत पाउनेमा अपाङ्गता भएका व्यक्ति र एकल महिला सात÷सात जना, एकल पुरुष पाचँ, ज्येष्ठ नागरिक तीन, अनाथ बालबालिकाको संरक्षक तीन तथा विपन्न वर्गका ३४ छन् ।

राहत वितरणमा निश्चित दूरी कायम गरिएको थियो । गाउँपालिकाले अब सबै वडामा क्रमैसँग अति गरिब तथा विपन्न परिवारलाई राहत उपलब्ध गराउने गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए ।

गाउँपालिकाले विपन्नलाई परिवारलाई ‘क’ र ‘ख’ गरी दुई वर्गमा विभाजन गरेको छ । जसअन्तर्गत अपाङ्गता भई कुनै काम गर्न नसक्ने, परिवारमा कुनै सदस्य कुनै पेशा व्यवसायमा संलग्न नभएको तथा एकल महिला र पुरुष, दीर्घरोगी भई काम गर्न नसक्ने, आम्दानीको स्रोत नभएको ५० वर्षभन्दा माथिका नागरिकलाई गाउँपालिकाले ‘क’ वर्गमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्