एउटै कोठाभित्र श्रीमान्–श्रीमतीका शव फेला



विराटनगर : भारतीय नागरिक श्रीमान्–श्रीमतीका शव विराटनगर महानगरपालिका– १४ स्थित अशोक यादवको घरको कोठाभित्र बिहीबार साँझ ५ बजेतिर फेला परेका छन् ।

 

श्रीमान्–श्रीमती भन्दै दुवैजना यादवको घरमा नौ महिनाअघि डेरा गरेर बस्दै आएका थिए । स्थानीय बासिन्दाले एउटै कोठाभित्र शव भेटिएका दुवैजना श्रीमान्–श्रीमती भएको बताए पनि प्रहरीले भने आधिकारिक पुष्टि गरिसकेको छैन । 

भारत दरभंगा घर भएका अन्दाजी ३५ वर्षीय रञ्जनकुमार सिंह र अन्दाजी २५ वर्षीय पूजाकुमारीको शव एउटै कोठामा फेला परेको प्रहरीले जनाएको छ । सबै झ्याल र ढोका भित्रबाटै लगाएको अवस्थामा कोठामा शव भेटिएको जानकारी प्रहरीले दिएको छ । 

 

मृत फेला परेका रञ्जन सिटी सफारी चलाएर जीविकोपार्जन गर्दै आएको स्थानीय बासिन्दाले जनाए । उनको शव मफलरको पासो लगाएर झुन्डिएको अवस्थामा र पूजाको शव घाँटीमा सलले बाँधेको र भूइँमा लडिरहेको अवस्थामा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । तर, उनीहरू श्रीमान्–श्रीमती हुन् भन्ने भरपर्दो आधार नभेटिएको उनले बताए । 

उनका अनुसार युवकको शव टिनले छाएको घरको काठको बलोमा झुन्डिएको अवस्थामा फेला परेको छ । 

 

युवतीको शव घाँटीमा सल बाँधिएको तर भुइँमै लडिरहेको अवस्थामा फेला परेको हो ।  दुवैले सहमतिमै झुन्डिएर आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । झुन्डिने क्रममा युवतीले झुन्डिन प्रयोग गरेको सल भने चुँडिएर उनको शव भुइँमा खसेको हुन सक्ने प्रहरीको अनुमान छ । 

 

युवतीको पनि घाँटीमा डोरी कसिएको निलडाम छ । घटनास्थलबाट प्रहरीले दुईवटा मोबाइल र केही कागजपत्र फेला पारेको छ । ‘झ्याल र ढोकाभित्रबाटै लगाएको अवस्थामा शव फेला परेका छन्,’ डिएसपी श्रेष्ठले भने, ‘भारतमा उनीहरूका परिवारका सदस्य कहाँ छन् भनेर खोजी र सम्पर्क गर्ने प्रयास भइरहेका छन् ।’ 

 

उनले घटनाको अनुसन्धान सुरु गरिएको बताउँदै अनुसन्धान सकिएपछि धेरै कुरा खुल्ने बताए । दुवैको शवलाई विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा पोस्टमार्टमका लागि पुर्‍याइएको छ ।

प्रतिक्रिया दिनुहोस्