दुई दशकपछि सर्वसाधारणका लागि खेलमैदान खुला



पर्वत : करिब दुई दशकसम्म सार्वजनिक कार्यक्रम हुन नसकेको जिल्लाकाे एक खेलमैदान सर्वसाधारणका लागि खुला गरिएको छ । कुश्मा नगरपालिका–७ गोदामस्थित खेलमैदान सर्वसाधारणका खुला गर्ने नगरपालिका र नेपाली सेनाबीच सहमति भएको छ । 

 

सेनाको गोदाम ब्यारेक केही समयभित्रै कुश्मा नगरपालिका– ३ दुर्लुङमा सर्न लागेको छ । ब्यारेक सर्ने भएपछि खेलमैदान सर्वसाधारणका लागि खुला गर्न नेपाली सेना सहमत भएको हो । करिब २७ रोपनीमा फैलिएको सो मैदानमा सशस्त्र द्वन्द्वको समयमा सर्वसाधारणका लागि प्रवेश बन्द गरिएको थियो । “सेनाले लिएपछि खेलकूद प्रतियोगिता र सभा सम्मेलन गर्न रोक लगाइएको थियो”, वडाध्यक्ष सुवास पौडेलले भने । 

 

नगरपालिकाले बजेट विनियोजन गरेर सो मैदान सम्याएको छ । सो मैदानको जग्गा नेपाल प्रहरीको नाममा रहेको छ । २७ रोपनीमध्ये १२ रोपनी जग्गा सम्याएर खेल मैदान बनाइएको छ ।

 

खेलमैदान सम्याएपछि यहाँ खेलको अभ्यास र प्रतियोगिता आयोजना गर्न सहज भएको नगर कार्यपालिकाका सदस्य परशुराम पुरीले बताए । खेलमैदान सर्वसाधारणका लागि खुला गर्न केही समयअघि नगरप्रमुख रामचन्द्र जोशी, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, केवलजङ्ग गुल्मका गुल्मपति शिव पौडेल तथा कुश्मा– ४, ५, ६ र ७ नं वडाका वडाध्यक्षबीच सहमति भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्