कैलाली, कञ्चनपुर र बागलुङमा र्‍यापिड टेष्ट गर्ने सरकारको निर्णय



काठमाडौं : सरकारले तीन जिल्लामा कोरोनाभाइरस (कोभिड–१९)को र्‍यापिड टेष्ट गर्ने भएको छ । आज (शनिबार) बसेको तीन घण्टा लामो मन्त्रिपरिषद बैठकले कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना परीक्षण (र्‍यापिड टेष्ट) बढाउने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिएका छन् ।

मन्त्रिपरिषद बैठकले लकडाउनमा थप कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान नदिने निर्णय समेत गरेको प्रवक्ता खतिवडाले बताए ।

साथै मंगलबारदेखि शुरु भएको दोस्रो चरणको लकडाउन लम्ब्याउने विषयमा भने बैठकले कुनै निर्णय नगरेको अर्थ एवम् सञ्चारमन्त्रीसमेत रहेका डा. खतिवडाले जानकारी दिए ।

चैत १० गते बसेको मन्त्रिपरिषद बैठकले कोरोनाभाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ११ चैतदेखि देशभर लकडाउन गरेको छ ।

शुरुमा चैत १८ गतेसम्म गरिएको लकडाउनको अवधि थप गर्दै हाल २५ चैतसम्म पुर्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्