सांसद साहले आफ्नो निजी स्रोतबाट स्वास्थ्य सामाग्री वितरण गर्दै



रौतहट : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतका सबै स्थानीय तहलाई स्वास्थ्य सामाग्री उपलब्ध गराउन लागेका छन् ।

कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न स्थानीय तहलाई स्वास्थ्य सामाग्री अभाव भएको बेला सांसद साहले आफ्नो निर्वाचन क्षेत्रमा ६ वटा स्थानीय तहलाई निजी स्रोतबाट स्वास्थ्य सामाग्री उपलब्ध गराउँदा काममा थप प्रभावकारिता आउने विश्वास लिइएको छ ।

सांसद साहले १००० थान सर्जिकल मास्क, ५० थान मास्क, १००० थान ग्लब्स, २ सेट पिपिई र ५/५ लिटर सेनिटाईजर लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराउन लागेका हुन् । उनको निर्वाचन क्षेत्र मौलापुर नगरपालिका, कटहरीया नगरपालिका, फतुवाविजयपुर नगरपालिका, गुजरा नगरपालिका, देवाहीगोनाही नगरपालिका र गरुडा नगरपालिका पर्दछ ।

बजारमै नपाएपछि सबै स्थानीय तहमा स्वास्थ्य सामाग्री अभावका कारण भाइरस नियन्त्रण गर्न जटिलता सृजना भईरहेको छ । सांसद साहले उपलब्ध गराएको सामाग्री ती स्थानीय तहहरूका लागि उपयोगी हुनेछ ।

कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि आफ्नो तर्फबाट स्वास्थ्य सामाग्री उपलब्ध गराउन लागेका नेता साह भन्छन्, ‘कोरोनाभाइरस विरुद्धको लडाइँमा तपाईं हाम्रो ऐक्यबद्धता र साथको जति जरुरी छ, त्यति नै जरुरी यस विपदको घडीमा आफ्नो स्थानबाट गर्न सकिने सहयोगको छ ।

कोरोनाभाइरसको संक्रमण रोक्न फिल्डमा खटिएका स्वास्थ्य कर्मी लगायतका साथीहरूलाई अत्यावश्यक मेडिकल सामाग्रीको अभावले थप जटिलता सृजना गरेको अवस्था छ ।

यस महासंकटको बेला मैले सानो प्रयासस्वरुप स्वास्थ्य सामाग्री उपलब्ध गराउँदै छु । स्वास्थ्य सामाग्री अभावको बीच स्थानीय तहलाई काम गर्न थोरै भए पनि सहजता हुने विश्वास लिएको छु । साथै आफ्नो स्थानबाट गर्न सकिने सहयोगकालागि अग्रसर हुन सबैमा आह्वान पनि गर्दछु ।’

नेकपा प्रदेश नम्बर २ का अध्यक्ष समेत रहेका सांसद साहले लकडाउनको अवधिभर घरमै बसेर कोरोनाभाइरस नियन्त्रणको अभियानमा साथ दिन पुनःआग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्