हिउँदे अधिवेशनको मुख्य मुद्दा स्थायी राजधानी र नामकरण : मुख्यमन्त्री राई



विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सभा हिउँदे अधिवेशनको मुख्य मुद्दा प्रदेशको स्थायी राजधानी र नामकरण हुने बताएका छन् । आज आइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा राईले अधिवेशनबाट जुनसुकै हालतमा पनि राजधानी र नाम टुंगो लगाइने जानकारी दिए ।  

 

आजै दिउँसो ३ बजे प्रदेश संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । मुख्यमन्त्री राईले संसद्मा विषय प्रवेश नियमावलीअनुसार नै हुने बताए । ‘यो हिउँदे अधिवेशनले जसरी भए पनि नाम र राजधानीको विषय टुंगो लगाउँछ । सकेसम्म सहमतिको प्रयास हुन्छ, सहमति नभए प्रक्रियामा गएर भए पनि टुंग्याइन्छ’, उनले भने ।

 

राईले प्रदेश १ को राजधानी विराटनगर र नाम कोसी हुने कुरामा शीर्ष नेताहरुबीच सहमति भइसकेको प्रसंग आफूलाई जानकारी नभएको बताए । यसका लागि राजनीतिक दलले प्रस्ताव ल्याउनेगरी काम थाल्न सरकारले समेत तयारी गरेको छ ।

राईले यही अधिवेशनमा विचाराधीन अवस्थाका छ वटा विधेयकमा पनि छलफल हुने जानकारी दिए । ‘दुईवटा विधेयक यसअघि नै प्रदेश सभामा दर्ता भएर छलफल प्रक्रियामा गइसकेका छन्,’ उनले भने, ‘चारवटा विधेयक छलफलका लागि दर्ता भएका छन् ।’

 

उनले बिजनेसका रुपमा रहेका विधेयक पारित हुने जानकारी पनि दिए । प्रदेश सभा सचिवालयमा दर्तामा रहेका, विषयगत समितिमा छलफलमा गएका र नयाँ दर्ता हुने विधेयमाथि छलफल भई पारित गरिने मुख्य मन्त्री राइको भनाइ छ । उनले प्रदेश सभाका टुंगो लाग्न बाँकी समिति सभापतिको टुंगो यही अधिवेशनबाट लाग्ने पनि बताए । 

राईले प्रदेशको समृद्धि र विकासमा केन्द्रित हुन सबैलाई आग्रह पनि गरे । राष्ट्रिय राजनीतिमा दलहरुबीचमा केही समस्या देखिए पनि प्रदेशमा यो समस्या नहोस् भनेर सबै दलबीच छलफल गर्दै उच्चस्तरीय सहमति गरेर अघि बढ्ने उनले बताए । उनले सबै दलहरुलाई समझदारीमा आउन पनि आग्रह गरे । 

‘संसद्मा प्रस्तुत हुने कुनै पनि विषयलाई छरपस्ट बनाउँदै असामान्य ढंगबाट लगिने छैन,’ उनले भने, ‘सबै दलहरुबीचमा सहमति र समझदारी गरेर नै अगाडि बढिने भएका कारण अन्य दल पनि जिम्मेवार भएरै प्रस्तुत हुन आवश्यक छ ।’ कुनै कुरालाई असामान्य हिसाबले प्रस्तुत गर्दा त्यसले सिंगो प्रदेशको विकास र समृद्धिमा बाधा पुग्ने उनको ठम्याइ छ । राईले सबै दलको चाहना प्रदेशको समृद्धि र विकास नै भएका कारण त्यही हिसाबले सबैले सहयोग गर्नुपर्ने बताए । 

उनले बजेट कार्यान्वयनको चरणमा प्रदेश अघि बढिसकेको जानकारी दिंदै संघीय सरकारबाट हस्तान्तरण हुने संरचना र बजेटको अख्तियारी पठाउन ढिलाइ हुँदा काममा केही बाधा परिरहेको बताए । राईले प्रदेश सरकारले कृषिलाई प्राथमिकता दिएको बताउँदै कृषिलाई आधुनिकीकरण गरेर सिंगो प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने खालका योजना ल्याइने जानकारी दिए । उनले कृषि, वन, वातावरण र पर्यावरणको विकासका लागि माघ २६ गतेबाट नयाँ र महत्वपूर्ण अभियान सुरु गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्