अमेरिकामा कोरोना कहरः यसरी हुँदैछ न्यूयोर्कमा शवको सामूहिक अन्त्येष्टि



एजेन्सी : कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ ।

यसअघि सबैभन्दा धेरै इटलीका नागरीकको मृत्यु भएको थियो । इटलीलाई समेत उछिनेर अमेरिका कोरोना भाइरसबाट पीडित हुनेमा पहिलो नम्बरमा आएको छ।

अमेरिकामा अहिले सम्म २० हजार ५८० जनाको मृत्यु भएको छ । अमेरिकामा मृत्यु हुनेको संख्या मात्र हैन संक्रमितको संख्यामा पनि पहिलो नम्बरमा छ। अहिलेसम्म संक्रमितको संख्या अमेरिकामा ५ लाख ३३ हजार ११५ पुगेको छ । तीमध्ये झण्डै दुई लाख जना न्युयोर्कका रहेका छन् ।

यसरी लगातार बढिरहेको मृत्युको कारण शवको सामूहिक अन्त्येष्टि गरिँदै आएको छ । बीबीसीमा उल्लेख भए अनुसार न्यूयोर्कमा सामूहिक दाहसंस्कार गरिएको तस्बिर सार्वजनिक भएको छ ।

उक्त तस्बिरमा सुरक्षित कपडा लगाएका कर्मचारीहरुले गहिरो खाडलभित्र काठका बाकसहरु हार्ट आइल्याण्डमा राखिरहेका छन् ।

वर्षौदेखि वेवारिसे लाशहरुको अन्तिम संस्कार गरिँदै आएको उक्त स्थानको यो तस्बिर ड्रोनद्वारा लिइएको हो । त्यहाँ गरिब र बेसाहारा मानिसहरुको शवको अन्तेष्टि गर्ने गरिन्छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था एपीका अनुसार हार्ट आइल्याण्डमा सामान्यतयाः हप्तामा लगभग २५ वटा शव आउने गर्दथ्यो भने अन्तेष्टि हप्ताको एक दिन मात्रै गर्ने गरिन्थ्यो ।

तर सुधारगृह विभागका प्रवक्ता जेसन कस्र्टनका अनुसार अब हप्ताका पाँच दिन लाश गाडिने भएको छ । र अहिले हरेक दिन २५ वटा लाश आइरहेको छ ।

उक्त ठाउँमा लाश गाड्नको लागि शहरको मुख्य जेल राइकर्स आइल्याण्डका कैदीहरुको प्रयोग गर्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्