डिजेल चोरी गर्ने कर्मचारीसहित चारजना पक्राउ 



मोरङ :  विराटनगर नागरिक उड्डयन कार्यालय अन्तर्गतको विराटनगर विमानस्थलबाट डिजेल चोरीको आरोपमा प्रहरीले त्यहाँकै कर्मचारीसहित चार जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । 

विमानस्थलका चौकीदार विराटनगर ४ का ४८ वर्षीय भोला यादव, उनकै छोराहरु २२ वर्षीय अमित र मुकेश यादव तथा भतिजा १९ वर्षीय चन्द्र यादवलाई चोरीको आरोपमा पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो । 

पक्राउ परेका चारैजनाविरुद्ध चोरी मुद्दा चलाउन मोरङ जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जानकारी प्रहरीले दिएको छ । पक्राउ परेकाहरुले चार सय लिटर डिजेल चोरी गरेको मोरङका प्रहरी प्रमुख तथा एसपी मनोजकुमार केसीले जानकारी दिए । 

चारै जनाको मिलेमतोमा गत पुस ९ गते डिजेल चोरी भएको र विमानस्थलले पुस १३ गते अनुसन्धानका लागि प्रहरीलाई पत्र पठाएर आग्रह गरेको एसपी केसीको भनाइ छ । विमानस्थलमा काम गर्ने भोलाले डिजेल स्टक गरेर राखेको ठाउँका बारेमा सूचना दिएपछि उनका आफ्नै छोरा र भतिजाले चोरी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

विराटनगर विमानस्थल प्रमुख टेकनाथ सिटौलाले आन्तरिक रुपमा अनुसन्धान गर्दा पनि कुनै कुरा पत्ता नलागेपछि प्रहरीलाई अनुसन्धानका लागि आग्रह गरिएको बताए । 

पक्राउ गरिएकाहरुले लुकाएर राखेको ९० लिटर डिजेल पनि प्रहरीले बरामद गरेको छ । त्यसमध्ये ३१० लिटर डिजेल भने लगेर बिक्री गरिसकेको खुलेको बताउँदै एसपी केसीले चोरीको डिजेल किन्नेको पनि पहिचान भइसकेका कारण किन्नेमाथि पनि अनुसन्धान अघि बढाइने जानकारी दिए । 

 

प्रतिक्रिया दिनुहोस्