चीनमा आइतबार भेटिए, मार्च ५ पछिको सबै भन्दा बढी कोरोना संक्रमित



एजेन्सी : चीनमा पछिल्लो ६ सातामा आइतबार सबै भन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन् ।

समाचार संस्था रोयटर्सका अनुसार रूससँग सीमा जोडिएको उत्तरपूर्वी चिनियाँ प्रान्त हेइलोङजियाङमा धेरै संक्रमित भेटिएका हुन् । आइतबार चीनभरि भेटिएका १०८ नयाँ संक्रमितमध्ये ९८ जना विदेशबाट आएकाहरू हुन् ।

त्यसमा पनि ४९ जना रूसबाट हेइलोङजियाङ प्रान्त आएका चिनियाँहरू हुन् । रूसमा पछिल्लो समय कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । सोमबारसम्म रूसमा १५ हजार ७ सय ७० मानिसमा संक्रमण देखिएको छ भने १३० जनाको मृत्यु भएको छ ।

रूसबाट आउनेहरूमा कोरोना भाइरस देखिन थालेपछि चीनले आफ्नो सीमामा थप कडाइ गरेको छ । पछिल्लो समय मार्च ५ मा चीनमा एकै दिनमा १४३ जना संक्रमित भेटिएका थिए ।

त्यसपछि एकै दिन नयाँ बिरामी सबै भन्दा धेरै थपिएको आइतबार नै हो । चीनले देशभित्रको संक्रमणलाई नियन्त्रणमा ल्याए पनि पछिल्लो समय विदेशबाट आउनेहरूमा कोरोनाको संक्रमण देखिन थालेपछि अधिकारीहरूमा संक्रमणको दोस्रो लहर आउने हो कि भन्ने चिन्ता छ ।

विदेशबाट आउनेसँगै चीनमा पछिल्लो समय लक्षण नभएका संक्रमित पनि बढ्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्