टीट्वान्टी सिरिज नेपालको कब्जामा



काठमाडौं : नेपालले युएईविरुद्ध ऐतिहासिक जीत हात पारेको छ। नेपाल र युएईबीचको टी-२० सिरिजको अन्तिम खेलमा नेपालले १४ रनको जीत हात पारेसँगै सिरिज आफ्नो कब्जामा गरेको हो। 

 

नेपालको पहिलो टी-२० सिरिजमा विजय हासिल गरेको हो। यसअघि नेपालले तीन खेलको एकदिवसीय सिरिज २-१ ले आफ्नो कब्जामा पारेको थियो। आइतबार भएको टी-२० सिरिजको अन्तिम खेलमा नेपालले जीत हात पारेको हो। वर्षाका कारण १० ओभरमा छोट्टिएको खेलमा नेपालले युएईलाई १०५ रनको लक्ष्य दिएको थियो। 

 

 नेपालले दिएको लक्ष्य पछ्याउने क्रममा युएईले निर्धारित १० ओभरमा ९० रनमात्र बनाउन सक्यो। उसका लागि साहिमन अनवारले ३०, गुलाम सब्बीरले २५ र मोहम्मद बुटाले ११ रन बनाउनुका अलवा अन्य ब्याटसम्यानले दोहोरो अंक जोड्न सकेनन्।  

 

बलिङतर्फ नेपालका लागि करण केसी, अविनाश बोहोरा र ललित राजवंशीले समान दुई-दुई विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेको नाममा एक-एक विकेट रह्यो।  टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि कप्तान पारस खड्काले २९, सन्दीप जोराले २८, विनोद भण्डारीले २१ र उपकप्तान ज्ञानेन्द्र मल्लले ११ रन बनाएका थिए। 

 

अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।  युएईका लागि मोहम्मद नावी र सुल्तान अहमदले समान दुई-दुई विकेट लिए भने अमीर हयात, जहोर खान र मोहम्मद बुटाको नाममा एक एक विकेट रह्यो।

 

दुबईस्थित अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) एकेडेमी ओभलमा हुने खेल दुवै टोलीका लागि महत्त्वपूर्ण थियो। अघिल्लो दुईमध्ये नेपाल र यूएईले एक-एक खेल जितेकाले शृंखला १-१ को बराबरीलाई तोड्दै नेपालले २-१ को जित निकालेको हो। 

 

टीट्वान्टी शृङ्खलाको पहिलो खेलमा यूएई २१ रनले विजयी भएको थियो। दोस्रो खेल नेपालले चार विकेटले जित्दै शृंखला बराबरी गरेको थियो। यसअघि यूएईविरुद्धको एकदिवसीय शृंखला २-१ ले जितेको थियो। 

 

नेपालले सन् २०१४ को टीट्‍वेन्टी विश्वकपपछि दुई वर्षका लागि टीट्‍वेन्टी टोलीको मान्यता पाएको थियो। सो अवसरमा नेपालले दुई टीट्‍वेन्टी शृंखलासमेत खेलेको थियो। यद्यपि नेदरल्यान्ड्स र हङकङविरुद्धको दुवै शृंखलामा नेपाल पराजित भएको नेपालका लागि आइतबारको जित एतिहासिक बनेको हो ।

 

नेदरल्यान्ड्ससँगको शृंखला नेपालले ३-१ र वर्षाका कारण तीनमध्ये अन्तिम खेल मात्रै सम्भव हुँदा हङकङसँगको शृंखला १-० ले गुमाएको थियो। 

प्रतिक्रिया दिनुहोस्