साढे ४३ लाख रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ



भद्रपुर, (झापा) : झापा प्रहरीले छुट्टाछुट्टै घटनामा साढे ४३ लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरादह गाउँपालिका ९ बस्ने ४५ वर्षीय शान्ति प्रसाईं र बिर्तामोड नगरपालिका ३ बस्ने भीम पोखरेल रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। 

प्रसाईले कलेज पठाइदिने भन्दै ३२ लाख र पोखरेलले अर्को नामको जमिन देखाउँदै ११ लाख ५० हजार ठगी गरेको डिएसपी श्रेष्ठले बताए। 

प्रहरीका अनुसार अर्जुनधारा नगरपालिका ६ बस्ने बन्दना ढकाल लगायतका केही व्यक्तिबाट  ३ देखि ५ लाखसम्मको दरले ठगी गर्ने प्रसाईले आफू स्वास्थ्य मन्त्रीको पूर्वस्वकीय सचिव भएको बताएका थिए। 

स्वकीय सचिव हुँदा मेरो साथी प्रकाश मगरलाई मेडिकल कलेज दिलाई दिएको र सोही कलेजमा फार्मेसी कोर्ष पढाइ दिन्छु भन्दै विभिन्न व्यक्तिबाट रकम असुलेकामा पीडित ढकालले प्रहरीमा उजुरी दिएको थियो। सोही उजुरीको आधारमा खोजताल गर्दा उनलाई घरबाटै पक्राउ गरिएको डिएपसी श्रेष्ठले बताए। त्यसैगरी अर्कै जमिन देखाउँदै पोखरेलले बिर्तामोड ३ बस्ने भीम बहादुर राईलाई ठगी गरेका थिए।

 मेचीनगरमा बस्ने छिरिङ लामाको नाममा रहेको साविक चारपाने गाविस २ को कित्ता नम्बर. ७३५ को जग्गा पोखरेलले आफ्नो नाम रहेको बताउँदै राईसँग साढे ११ लाख रुपैयाँ जमिनबापत बैना लिएका थिए।

 

प्रतिक्रिया दिनुहोस्