भारतको अवस्था सामान्य नभएसम्म सीमा नाका बन्द नै रहने र सुरक्षा तैनाथी बढाइने



काठमाडौं : सरकारले भारतसँगको सीमा नाका अझ कडाई गर्ने भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भारतबाट आएकाहरुमा बढी संक्रमण भेटिएको र भारतमा संक्रमण झनै धेरै फैलिरहेको भन्दै भारतसँगको सीमामा निगरानी बढाउने निर्णय गरेको हो ।

सरकारले सीमा नाकामा थप सुरक्षा तैनाथ गर्ने र कडाई गर्ने बारेमा छलफल गरेको छ । आन्तरिक रुपमा लकडाउन लम्बाइएको र सीमा क्षेत्रमा अझ कडाई गरिने विषयमा बैठकमा छलफल भएको थियो ।

भारतमा दिनानुदिन महामारीको रुपमा कोरोना फैलँदै गएकोले भारत सामान्य अवस्थामा नफर्केसम्म सीमा नाकामा सुरक्षा कडाई गरिने एक मन्त्रिले बताए । उनले सीमा नाका बन्द नै रहने र सुरक्षा तैनाथी बढाउने निर्णय भएको समेत जानकारी दिए ।

सीमा नाबाट लुकिछिपी कसैलाई पनि आवतजावत गर्न नदिन विशेष सतर्कता अपनाइएको र त्यसमा थप शक्ति केन्द्रित गरिने ती मन्त्रीले बताए ।

उनले भने ‘अहिलेको अवस्थामा हामीलाई सबैभन्दा ठूलो खतरा भारतबाट आउनेहरुबाटै देखियो । आएकाहरुको पहिचान गरेर सबैको परीक्षण गराउने क्रम चलिरहेको छ । सीमा नाका वैशाख १८ सम्म बन्द गर्ने भनिएको छ तर त्यो भनेको भारत सामान्य अवस्थामा नपुगेसम्म जारी रहन्छ ।’

प्रतिक्रिया दिनुहोस्