एम्बुलेन्स दिँदा नागरिक अभिनन्दन 



विराटनगर : विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा. सुनिल शर्मा र उनकी पत्नी एवं अस्पतालकी निर्देशक इन्दिरा शर्मालाई मोरङको पथरी शनिश्चरे नगरपालिकामा नागरिक अभिनन्दन गरिएको छ ।

 

११ लाख मूल्यको एम्बुलेन्स सहयोग गरेपछि पथरी शनिश्चरे–९ पुलचोकमा शर्मा दम्पतीलाई सम्मानसहित नागरिक अभिनन्दन गरिएको हो । डा. शर्माले स्थानीय त्रिपुरेश्वर शिवपाञ्चायन मन्दिर व्यवस्थापन समितिलाई एम्बुलेन्स प्रदान गरेका छन् ।

 

बालबालिकादेखि वृद्धवृद्धासम्मले शर्मा दम्पतीलाई फूलमाला, अबिर, दोसल्ला र खादा लगाएर अभिनन्दन गरेका हुन् । स्थानीयका तर्फबाट ज्येष्ठ नागरिक शेरबहादुर राईले डा. शर्मालाई अभिनन्दनपत्र प्रदान गरी दोसल्ला ओढाएर सम्मान गरे ।

 

डा. शर्माले गाउँ–गाउँका बिरामीलाई सहजताका लागि एम्बुलेन्स प्रदान गरिएको बताए । उनले मोरङका विभिन्न स्थानमा थप २६ वटा एम्बुलेन्स प्रदान गर्ने घोषणा पनि गरेका छन् । 

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र लिम्बुले समाजसेवामा पहिचान बनाएका डा. शर्माले एम्बुलेन्स दिएपछि गाउँ–गाउँका बिरामीलाई उपचारका लागि अस्पतालसम्म लैजान सहज भएको बताए ।

प्रतिक्रिया दिनुहोस्