र्‍यापिड टेस्टमा झापाका एक युवकमा कोरोना पोजेटिभ



झापा : चैत ८ गते दुबईबाट नेपाल आएका झापाका एक युवकमा कोरोना पोजेटिभ देखिएको छ । र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गर्दा ती युवकमा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएको हो ।

बुधबार आरडीटी विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले जानकारी दिए । उनमा कोरोना संक्रमण भएको वा नभएको निर्यक्योल गर्न स्वाब नमुना संकलन गरी विराटनगरस्थित कोशी अस्पतालमा रहेको प्रयोगशालामा पठाइएको कानुन मन्त्री कार्कीले बताए । यी युवकसँगै उनको परिवारका चार सदस्यको पनि स्वाब विराटनगर पाइएको उनले बताए ।

उनी दुबईबाट फर्किएपछि घरमै क्वारेन्टाइनमा बस्दै आएका थिए ।

जिल्ला जनस्वास्थ्य कार्यालय झापाले हल्दिबारीमा ५५ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको जनाएको छ । त्यस क्रममा १९ जनाको थ्रोट स्वाब संकलन गरी प्रयोगशाला परीक्षणका लागि विराटनगर ल्याइएको छ ।

हल्दिवारी गाउँपालिकामा विदेशबाट आएका ४ जना क्वारेन्टाइनमा र ५१ जना होम क्वारेन्टाइनमा बस्दै आएका छन् ।

हल्दिवारीमा दुबई, कतार, मलेसिया, बराइन, ओमनलगायतका देशबाट ७० जनाभन्दा बढी व्यक्ति फर्किएका गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्