भारतको राजधानीसहित ६ शहर कोरोना संक्रमणको ‘रेड जोन’मा



काठमाडौं : भारतको राजधानी नयाँदिल्लीसहित ६ शहरलाई ‘रेड जोन’मा राखेको छ । भारत सरकारले मंगलबार जारी गरेको निर्देशिकामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको तहको आधारमा ६ वटा शहरलाई ‘रेड जोन’मा राखेको हो ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार देशका १ सय ७० जिल्लालाई ‘रेड जोन’मा विभाजन गरिएको छ । २ सय ७ जिल्ला उच्च निगरानीमा छन् । दिल्ली र मुम्बई बाहेक चेन्नई, बैंग्लोर, कलकत्ता र हैदराबादलाई ‘रेड जोन’मा राखिएको छ । यी शहरस्थित प्रमुख औद्योगिक उत्पादन क्षेत्र समेत ‘रेड जोन’मा राखिएको हो ।

‘रेड जोन’ले संक्रमणको सबैभन्दा बढी जोखिममा रहेको क्षेत्र देखाउँछ भने केही मात्रै संक्रमित रहेको क्षेत्रलाई ‘ओरेन्ज जोन’ र संक्रमण नदेखिएको क्षेत्रलाई भने ‘ग्रीन जोन’मा विभाजन गरिएको छ । ‘ग्रीन जोन’मा भने कुनै शहर छैन ।

निर्देशिका बमोजिम २८ दिनसम्म नयाँ संक्रमित नथपिएको अवस्थामा ‘ओरेन्ज जोन’मा परिण गरिनेछ । १४ दिनसम्म कुनै नयाँ संक्रमित फेला नपरेको अवस्थामा ‘ओरेन्ज जोन’लाई संक्रमण मुक्त घोषणा गरिने बताइएको हो ।

भारतको कुल ७ सय २० जिल्लामध्ये ४ सय २० जिल्लामा कोरोनाको संक्रमण पाइएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा कोरोना संक्रमितको संख्या करिब १४ हजार पुगेको छ भने ४ सय १४ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।

साथै एक हजार ४ सय ८९ जना संक्रमित निको भएर घर फर्केका छन् ।

समाचार संस्था टाइम्स अफ इन्डियाको अनलाइन संस्करणका अनुसार महाराष्ट्रमा दुई हजार ९ सय १७ जना संक्रमित छन् । १ सय ८७ जनाको मृत्यु भएको छ । २ सय ९५ जना निको भएर घर फर्केका छन् ।

यस्तै दिल्लीमा एक हजार ५ सय ७८ जना कोरोना संक्रमित छन् भने ३२ जनाको मृत्यु भएको छ । भने ४० जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्