सरकारको दोहोरो नीति : स्वास्थ्य सामग्री खरिदका लागि ५ व्यवसायी कम्पनिसँग आज सम्झौता



काठमाडौं : सरकारले जिटूजी प्रक्रियाबाट औषधि तथा स्वास्थ्य सामग्री खरिद गर्ने र त्यसको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेपनि फेरी निजी क्षेत्रलाई नै दिने निर्णय अघि सार्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले आज (शुक्रबार) करिब ३० करोड रुपैयाँ बराबरको मेडिकल सामान खरिदका लागि ५ व्यवसायी कम्पनिसँग सम्झौता गर्ने तयारी गरेको छ ।

मन्त्रालयका अनुसार विभागले लुम्बिनी हेल्थ केयर प्रालि, ओम सर्जिकल कन्सर्न, महाशक्ति सप्लायर्स, हाम्रो मेडिकन्सर्न प्रालि र पाइनियर होल्डिङ्स प्रालिसँग मेडिकल सामान खरिदका लागि सम्झौता गर्न लागेको हो ।

हाम्रो मेडिकन्सर्न र पाइनियर होल्डिङ्स पहिलो पटक मेडिकल सामान आपूर्ति गर्न लागेका हुन् ।

सरकारले चैत १६ गते जिटूजी प्रक्रियाबाट औषधि तथा स्वास्थ्य सामग्री खरिद गर्ने निर्णय गर्दै सामान ल्याउने जिम्मा नेपाली सेनालाई दिएको थियो ।

विभागले गत चैत २५ गते ओबिसिआई (ओम्नी) ग्रुपसँगको मेडिकल सामान खरिद रद्द गरेसँगै नयाँ प्रक्रियाबाट मेडिकल सामान खरिदका लागि टेण्डर गरेको थियो । टेण्डरमा सहभागी कम्पनिमध्येबाट पाँच वटा मेडिकलसँग मेडिकल सामान खरिदका लागि आज सात दिनका समय दिँदै सम्झौता गर्ने तयारी गरेको छ ।

स्वास्थ्य सामग्री खरिद सम्बन्धी सरकारको दोहोरो नीतिका कारण नेपाली सेनाको क्षमतामाथि प्रश्न उठ्ने अवस्था आएको छ ।

एकातर्फ चाडो सामान किन्न नसकेपछि सेना आलोचित हुने र अर्को तर्फ बाहिर सेनलाई देखाएर भित्र व्यापारीसँग कारोबार अघि बढाउँदा सरकारको भूमिका माथिपनि प्रश्न उठ्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्