राेजगारका लागि भारत गएका २ सय बढी बेपत्ता, ९२ जना लुटिए



धनगढी : रोजगारका लागि भारत गएका सुदूरपश्चिमका चार वटा स्थानीय तहका दुई सय नौ जना जना बेपत्ता भएका तथ्यांक सार्वजनिक भएको छ।

 

निड्स नेपालले कञ्चनपुरको पुनर्वास नगरपालिका र महाकाली नगरपालिका तथा डोटीको शिखर नगरपालिका र केआईसिंह गाउँपालिकाको वडा नम्बर ६ र ७ मा गरेको भारतमुखी श्रम आप्रवासनको अवस्था अध्ययन अनुसार दुई सय नौ जना भारतमा हराएका छन्।

 

निड्स नेपालका सहकार्यकारी निर्देशक प्रकाशचन्द्र मडैका अनुसार शिखर नगरपालिकाबाट एक सय, पुनर्वास नगरपालिकाबाट ३७, महाकाली नगरपालिकाका ५४ र केआईसिंह गाउँपालिकाको वडा नम्बर ६ र ७ का १८ जना हराइरहेका छन्। हराएका मध्ये ६६ जनाका परिवारले आफ्नो मान्छे भारतको कुन ठाउँबाट हराएको हो भन्ने समेत थाहा पाएका छैनन्।

 

सहकार्यकारी निर्देशक मडैले ३६ जना उत्तराखण्ड, ३३ जना दिल्ली, २२ जना पञ्जाव, २२ जना मुम्बई, १७ जना गुजरात/राजस्थान, १३ जना उत्तरप्रदेशबाट हराएको बताए। 

 

अध्ययनका अनुसार हराएका मध्ये ३२ जनाको परिवारले खोजीका लागि पहल समेत गर्न सकेनन्। एक सय ७७ जनाका परिवारले भारत गएर त्यहाँका साथी र संस्थाहरूको पहलमा खोज्ने प्रयास गरेका थिए।

 

तर, नेपाल सरकारको तर्फबाट खोजीका लागि कुनै पहल हुन नसकेको मडैले बताए। तीमध्ये एक सय ५५ जनाको परिवारले फर्किने आशा मारिसकेका छन् भने ५४ जनाका परिवार फर्किने आसमा छन्।

 

भारतमा हराउने मध्ये ७४ अल्कोहलिक भएको कारणले हराएको हुन सक्ने परिवारका सदस्यले अनुमान गरेका छन्। ४९ जना मानसिक समस्याका कारणले हराएको परिवारका सदस्यले बताएका छन्। ४३ जनाका परिवारले 'भगवान्'का कारण हराएको बताएका छन् भने ४३ जनाले कारण नै थाहा पाउन सकेका छैनन्।

 

बाटैमा ९२ जना लुटिए

गत २७ महिनामा भारतमबाट काम गरेर गड्डाचौकी हुँदै फर्किरहेका ९२ जना नेपालीहरू बाटोमै लुटिएका छन्। 

 

निड्सको अध्ययनअनुसार महेन्द्रनगरमा ६ र ब्रह्मदेवका ५ जना गरी ११ नेपाल पुगिसकेपछि पनि लुटिएका छन्। सबैभन्दा धेरै भारतको वनबासामा २६ जना, हल्द्वानीमा १३ जना लुटिएका छन्। भारतको बरेली, गढवाल, आनन्द विहार लगायतका विभिन्न स्थानमा लुटिने गरेको तथ्यांक छ। 

 

अध्ययन अनुसार लठ्याउने औषधि खुवाएर ४१ जनालाई लुटिएको छ। ४१ जनाको सामान बाटोमा चोरी भएको थियो। ५ जनालाई त्रास देखाएर, ४ जनालाई कुटपिट गरेर लुटिएको छ भने एक जना  सीमानामा धम्क्याएर लुटिएका थिए। 

 

त्यसैगरी, सँगै यात्रा गरिरहेको यात्रीले ६५ जनालाई, घटनास्थलका स्थानीय समुदायले २४ जनालाई, दलाल तथा बसका कर्मचारीले ३ जनालाई लुटेको तथ्यांकले देखाएको छ। 

 

१० हजार रुपैयाँभन्दा कम कमाएर घर फर्किदा लुटिने सबैभन्दा धेरै ३५ जना छन्। २८ जनाले १० देखि २० हजार, १५ जनाले २० देखि ३० हजार, नौ जनाले ३० देखि ४० हजार, एक जनाले ४० देखि ५० र चार जनाले ५० हजार रुपैयाँभन्दा बढी कमाएर फर्किरहेको बेला लुटिएको तथ्यांकले देखाएको छ।

प्रतिक्रिया दिनुहोस्