विपक्षीलाई बाहिर राखेर सुदूरपश्चिममा मुख्यमन्त्रीले लिए विश्वासको मत



काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाएका छन् । प्रदेश सभाको बिहीबार बसेको बैठकमा नेपाली कांग्रेससँगै नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी समूहका सांसदहरूको नाराबाजी र बहिष्कारका बिच विश्वासको मत लिने प्रस्ताव पेस भएको थियो ।

प्रदेश सभा बैठक सुरु भए लगत्तै उनीहरूले वेल घेराउ गरेर नाराबाजी गरेका थिए ।काँग्रेस र नाउपा सांसदहरूको नाराबाजीका बिच सभामुखले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने प्रस्ताव टेबल गर्न अनुमति दिए । लगत्तै सभामुख भण्डारीले मत विभाजन प्रक्रिया सुरु गरे ।

त्यसपछि काँग्रेस र नाउपा रेशम पक्षका प्रदेश सांसदहरू बैठक कक्ष छाडेर बाहिर गए । सत्ता पक्षका सांसदहरू मात्र बाँकी रहेको बैठकमा सभामुखले मतदान प्रक्रिया पूरा गराए । विश्वासको मत लिने प्रस्तावको पक्षमा २८ मत पर्‍यो । यससँगै मुख्यमन्त्रीले विश्वासको मत पाएको सभामुख भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्