बन्दाबन्दीको चुनौती : लागुऔषधका कारोवारी नयाँ जुक्ति अपनाउँदै



काँकडभिट्टा : कोरोना भाइरसको संक्रमण रोक्न सीमानाकामा परिचालित प्रहरीका लागि लागुऔषधका कारोवारी र प्रयोगकर्ता चुनौती बनेका छन् ।

पूर्वीनाका काँकडभिट्टामा बन्दाबन्दी उल्लंघन गर्नेहरु धेरैजसो लागुऔषधसँग जोडिएको पाइएको छ । दुई साताअघि काठमाडौंबाट दुई युवा बा ६ च ७०१९ नं.को कार लिएर काँकडभिट्टा पुगेका थिए ।

आफूलाई स्वास्थ्य शिविर चलाउन आएको स्वास्थ्यकर्मी बताउने उनीहरुमध्ये एक जनासँग चिकित्सकको परिचयपत्र समेत थियो । तर प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेललाई शंका लाग्यो । केरकार गर्दा दुवै जना लागुऔषध खोज्दै पुगेको पत्ता लाग्यो । उनीहरुले चिकित्सकको नक्कली परिचयपत्र बोकेका थिए ।

हाल कारलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालयमा राखिएको छ भने दुवै युवालाई क्वारेन्टाइनमा राखिएको छ । मेचीनगरको क्वारेन्टाइनमा बस्नेहरुमा लागुऔषधका कारोवारी र प्रयोगकर्तासमेत छन् । बन्दाबन्दीमा मोटरसाइकल चलाएको पाइएपछि उनीहरुलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको हो ।

दुईजना लागुऔषधका प्रयोगकर्ता केही दिनअघि क्वारेन्टाइनको झ्याल फोरेर राति भागेका थिए । यतिबेला भारतसँगको सीमानाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो गस्ती र अस्थायी शिविर छ । सुरक्षाकर्मीलाई छलेर भारततिर जान असम्भव भए पनि त्यस्ता व्यक्तिले असफल प्रयास भने गरिरहेकै छन् ।

काँकडभिट्टापारि भारतको पानीट्याङ्की, खोरीबारी, अधिकारी र बतासीमा लागुऔषध नेपालतिर आपूर्ति गर्ने अखडाहरु छन् । पहिले पसलमार्फत हुने किनबेच अहिले सीमा छेउका झुप्रा घर र खोलाको बगरबाट भइरहेको बताइएको छ । नाकाबाट आवतजावत ठप्प भएपछि लागुऔषधका कारोवारीले नयाँ नयाँ जुक्ति प्रयोगमा ल्याइरहेको सूचना पाएकाले प्रहरीलाई चनाखो रहन आग्रह गरिएको मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले बताईन् ।

उनले खोलामा नुहाउने बहानामा लागुऔषध वारपार भइरहेको हुँदा सतर्क हुनुपर्ने बताईन् । “नुहाउने बहाना गर्दै नेपालतिरबाट युवा मेची नदीमा जाने गर्दा रहेछन्’’, उनले भनिन्, “भारततिरबाट पनि त्यसैगरी खोलामा आउँछन् र पानीमुनि नुहाएको बहाना गरी लागुऔषध दिँदारहेछन् ।” खोलामा नुहाउन जानेमाथिसमेत प्रहरीले हाल निगरानी गरिरहेको छ ।
भारतसँग जोडिएको मेचीनगर नगरपालिकाको सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले २५ स्थानमा अस्थायी पोष्ट बनाएको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले २५ वटा मोटरसाइकल, एउटा स्कार्पियो र एउटा कार नियन्त्रणमा लिइएको बताए । उनका अनुसार ती सवारी साधन शंकास्पद लागुऔषध कारोवारीको हो ।

बन्दाबन्दीमा सुरक्षा व्यवस्था कडा बनाइएको हुँदा सर्वसाधारण घरमै बसेको भए पनि लागुऔषधका प्रयोगकर्ता र कारोवारी भने सल्बलाइरहेको उनले बताए । लागुऔषधका प्रयोगकर्ताबाट समाजमा उत्पन्न हुन सक्ने चुनौती र समस्या समाधानकाबारेमा स्थानीय सरकारसँग छलफल भइरहेको र सीमा पार गरेर अब कोही पनि जान नसक्ने प्रष्ट पारे ।

मेचीनगर क्षेत्रबाटै झापा र अरु जिल्लामा लागुऔषधको धन्धा विगतदेखि नै संचालन हुँदै आएको हुँदा कारोवारको जालो बलियो हुन सक्ने अनुमान गरिएको छ । मेचीनगर-१० को खयरडाँगीमा धरान, दमक, फिदिम, इटहरीलगायत विभिन्न शहरबाट लागुऔषध खोज्दै आएका युवालाई स्थानीय टोल समितिले केही दिनअघि भाटेकारवाही गर्दै लखेटेको थियो ।

लागुऔषध नियन्त्रण र प्रयोगकर्तालाई स्वस्थ जीवनमा फर्काउने अभियान चलाइरहेको नाइटचेस क्लब काँकडभिट्टाका प्रोडक्सन को-अर्डिनेटर सोमराज ढकालले नियमित सेवनकर्ताले कुनै कारणवश खान पाएन भने ७२ घण्टासम्म ‘सिक’ हुने बताए । त्यस्तो अवधिमा उनीहरुमा सहनै नसक्ने गरी शारीरिक र मानसिक पीडा हुने, पेट बटारिने, मांसपेशी बाउडिने जस्ता समस्या देखा पर्ने बताए ।

बन्दाबन्दीको अवस्थामा लागुऔषध खानका लागि त्यस्ता व्यक्तिले ज्यानको पर्वाह नगरी सीमा पार गर्ने, राति हिँडडुल गर्ने, चोरी र लुटपाट गर्ने गन र्श सक्ने ढकालले सम्भावना व्यक्त गरे । उनीहरुलाई स्थानीय सरकारले खोजेर छुट्टै क्वारेन्टाइनमा राखेर परामर्श दिने वा सरकारले नै लागू गरेको मौखिक प्रतिस्थापन विधि (ओएसटी)बाट औषधी उपचार गर्ने उपाय भएको उनले बताए । रासस

प्रतिक्रिया दिनुहोस्