६० लाख केजी हरियो चियापत्ति खेर गयो



झापा : झापामा करीब ६० लाख केजी हरियो चियापत्ति खेर गएको छ ।

चियाको ‘फस्ट फल्स’ टिप्ने बेलामा कोभिड-१९ को संक्रमण फैलिन नदिन सरकारले लकडान घोषणा गरेपछि त्यहाँका बगानमा उत्पादित उक्त परिमाणका हरियो चियापत्ति खेर गएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका चिया अधिकृत इन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

“चिया टिप्न नपाउँदा पत्ति हुर्किएर गएको छ”, उनले भने,“जसका कारण किसानले ठूलो नोक्सान बेहोर्नु परेको छ ।” साधारणतः प्रतिकेजी २० का दरले हिसाब गर्दा पनि किसानले १२ करोड बराबरको क्षति भएको उनको भनाइ छ ।

इलाम, पाँचथर, धनकुटालगायत पहाडी जिल्लामा समेत १० लाख केजी हरियो चियापत्ति नोक्सान भएको उनले दिए । “पहाडी जिल्लामा १० दिन अघिदेखि चिया टिप्न थालिएकाले धेरै नोक्सान हुन पाएन”, उनले भने, झापामा १२ हजार हेक्टरमा चिया खेती हुँदै आएको छ ।

साना किसान चिया व्यवसायी संघ झापाका अध्यक्ष पूर्ण कार्कीले अहिले सबैभन्दा धेरै साना चिया किसान मर्कामा परेको बताए । “पाकेको बाली भित्र्याउने अवस्था छैन”, उनले भने,“त्यसमा अझ ज्यान जोगाउनुपर्ने छ ।” अहिलेको मुख्य चुनौती कोरोना भाइरस संक्रमण फैलिन नदिनु भएकाले चियाको व्यवस्थापन पछि सरकारले किसानलाई राहत दिनुपर्नेमा जोड दिए ।

पत्ति हुर्किएर खेर जाने अवस्था आए पनि बगानमा काम लगाउन नसकिएको उनको भनाइ छ । “काम गर्नेलाई केही भयो भने त्यसको व्यवस्थापन कसरी गर्ने ?”, उनले भने,“त्यसैले अहिले के गर्ने, नगर्ने भन्ने विषयमा साना चिया किसान ठूलो समस्यामा छन् ।” झापामा ३ हजार साना चिया किसानले चिया खेती गर्दै आएका छन् ।

चिया उत्पादक संघका केन्द्रीय सल्लाहकार चण्डी पराजुलीले ‘फस्टफल्ड’ को हरियो चियापत्ति ९० प्रतिशत नोक्सान भइसकेको बताए । उनले भने,“राम्रो दाममा बिक्री हुने राम्रो चिया पत्ति लगभग खेर गएको छ । केही बगानमा चिया काटेर फालिसकिएको छ, केहीमा काटिँँदैछ ।”

जिल्ला प्रशासन कार्यालय झापाको रोहवारमा चिया उत्पादक संघ र चिया मजदुर प्रतिनिधिबीच आइतबारदेखि बगान र कारखाना संचालन गर्ने सहमति भएको छ । कामदारलाई मास्क, हातधुने साबुन पानी, सामाजिक दुरी कायम गराएर सुरक्षित तवरबाट काम सुचारु गर्ने सहमति भएको उनले बताए ।

अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश नं.१ का इंचार्ज भूपाल सापकोटाले कोरोना भाइरसको संक्रमणबाट बच्न तोकिएका स्वास्थ्य सम्बन्धी मापदण्ड पूरा गर्दै चिया बगान र कारखानाको काम नियमित गर्ने निर्णय भएको बताए ।

बगान तथा प्रशोधन कारखाना संचालनका क्रममा तोकिएको स्वास्थ्यसम्बन्धी मापदण्ड पूरा भए नभएको विषयमा अनुगमन गर्न नेपाल चिया तथा कफी विकास बोर्डको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको छ । समितिमा चिया उत्पादक संघ, झापा उद्योग संघ र ट्रेड युनियनका प्रतिनिधि छन् ।

यसअघि स्थानीय प्रशासन चिया उद्योगी, मजदुर संघ-संगठनबीच भएको बैठकमा चिया बगानमा सिँचाइ गर्ने, विषादी छर्किने, नाला सफा गर्ने, ठूलो भएको चिया स्किपिङ गर्ने र कारखाना मर्मत गर्ने काम अघि बढाउने विषयमा सहमति भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्