अगुवा कृषकलाई हाते ट्याक्टर प्रदान



खोटाङ :  खोटाङस्थित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ (मकै जोन)को कार्यालयले स्थानीय अगुवा कृषकलाई हाते ट्याक्टर प्रदान गरेको छ । कृषि क्षेत्रलाई व्यावसायीकरण तथा आधुनिकीकरण गर्ने उद्देश्यसहित परियोजनाले सोमबार सम्बन्धित कृषकलाई १५ हाते ट्याक्टर प्रदान गरेको हो ।

प्रोत्साहन अनुदानअन्तर्गत नौ कृषक समूहलाई शतप्रतिशत अनुदानमा र व्यावसायिक रूपमा कृषि पेशा अपनाइरहेका छ किसानलाई मागका आधारमा ५० प्रतिशत अनुदानमा जमीन जोत्ने हाते ट्याक्टर वितरण गरिएको कार्यालयका निमित्त कृषि विकास अधिकृत ध्रुवकुमार कार्कीले बताए ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित फूलबारी कृषक, हरियाली आयआर्जन कृषक, हातेमालो कृषि सहकारी संस्था, पिप्ले दिक्तेलबारी कृषक, पञ्च मावि माझटोल कृषक, खाल्लेस्थित नवजागरण तरकारी कृषक, नयाँ पहिचान कृषक, सक्रिय कृषक र सूर्यमुखी मकै बीउ उत्पादन कृषक समूहलाई शतप्रतिशत अनुदानमा ८० हजार रुपैयाँ मूल्य पर्ने एक÷एक थान हाते ट्याक्टर प्रदान गरिएको परियोजनाले जनाएको छ ।

दिक्तेलस्थित कृषि ज्ञान केन्द्रमा आयोजना गरिएको कार्यक्रममा किसानकै मागका आधारमा ५० प्रतिशत अनुदानमा छ हाते ट्याक्टर वितरण गरिएको मकै जोन सञ्चालक समितिका संयोजक दीपेन्द्र राईले बताए । परियोजनाले ५० प्रतिशत अनुदानमै सात मकै छोडाउने औजारसमेत प्रदान गरेको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले कृषक तथा कृषि समूहलाई हाते ट्याक्टर तथा मकै छोडाउने औजार प्रदान गरेका हुन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकाका ११ वडामा परियोजना सञ्चालन भएको छ ।

प्रतिक्रिया दिनुहोस्