चीनसँग सेनाले गर्‍यो औषधि खरिद सम्झौता



काठमाडौं : नेपाली सेनाले कोरोनाको उपचार तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री खरिद गर्न चीनसँग सम्झौता गरेको छ।

सेनाले कोरोना संक्रमितको उपचारमा प्रयोग हुने व्यक्तिगत सुरक्षा कवच (पीपीई), मास्क, ग्लोब्स लगायतका स्वास्थ्य समग्री खरिदका लागि सवा २ अर्ब रुपैयाँको सम्झौता गरेको हो ।

चीनबाट पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) एन९५ मास्क लगायतका स्वास्थ्य सामग्री ३ सय ४० टन ल्याइने नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिए ।

जीटूजी विधिबाट हुने खरिद अनुसार सेनाले चीनसँग सम्झौता गरेको हो । स्वास्थ्य सामग्रीहरु हवाई तथा स्थल दुवै मार्गबाट ल्याइने छ । सेनाका अनुसार पैसा पठाएको एक सातामा स्वास्थ्य सामग्री आइपुग्नेछ।

यसअघि सरकारले आम्नी ग्रुपसँग स्वास्थ्य सामग्री खरिदका लागि सम्झौता गरेको थियो । ओम्नीसँगको सम्झौता विवादित भएपछि सरकारले स्वास्थ्य सामग्री खरिदको जिम्मा सेनालाई दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्