प्रदेश १ बाट पनि दिन थालियो श्रम स्वीकृति  



श्रम स्वीकृति लिन लाइनमा बसेका युवा ।

विराटनगर : प्रदेश १ को अस्थायी राजधानी विराटनगरस्थित श्रम कार्यालयले पनि बुधबारबाट श्रम स्वीकृति दिन थालेको छ । प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले श्रम स्वीकृति दिने कार्यको उद्धघाटन गरे । मन्त्री घिमिरेले कतार जान लागेका धनकुटाको चौबीसे गाउँपालिका–५ का विजय खड्कालाई पहिलो श्रम स्वीकृति दिए ।

श्रम स्वीकृतिकै लागि यसअघि काठमाडौंसम्म पुग्नुपर्ने झन्झट थियो । सेवाग्राहीले श्रम स्वीकृति आफ्नै प्रदेशबाट सुरु भएको भन्दै आभार व्यक्त गरेका छन् । खड्काले समय र काठमाडौं जाँदा लाग्ने खर्चसमेत जोगिएको बताए । उनले काठमाडौंबाट यसअघि श्रम स्वीकृति लिनलाई धेरै झन्झट बेहोर्नुपरेको बताए । 

सरकारले वैदेशिक रोजगारीका लागि सेवा विकेन्द्रित गर्दै मुलुकका सातवटै प्रदेशबाट श्रम स्वीकृति दिने तयारी गरेको थियो । सरकारी तयारीअनुरुप पुस १५ बाट सेवा सुरु हुनुपर्ने हो । तर श्रम कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेल र निमित्त प्रमुख मणिनाथ गोपको सरुवा विवादका कारण सेवा सुरु हुन सकेको थिएन । कार्यालयमा अहिले अधिकृत सविता दाहाललाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ । 

वैदेशिक रोजगार विभागका महानिर्देशक दिलिपकुमार चापागाईंले वैदेशिक रोजगार ऐन २०६४ को दफा १९ र २१ बमोजिम वैदेशिक रोजगारमा जाने कामदारलााई श्रम स्वीकृति  दिने र वैदेशिक रोजगार ऐन २०६४ को दफा ७४ तथा  वैदेशिक  रोजगार नियमावली  २०६४ को नियम ४७ र ८४ मा उल्लिखित व्यवस्था पालना गरेनगरेको अनुगमन गर्ने अधिकार श्रम कार्यालयलाई दिइएको बताए । 

मन्त्री घिमिरेले मुलुकमा रोजगारीको अवस्था सिर्जना गर्न नसक्दा वैदेशिक रोजगारीमा जाने क्रम रोक्न नसकिएको बताए । विदेश जानलाई श्रम स्वीकृति दिन थालिएको भए पनि त्यो क्रम रोकेर स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्ने उनको भनाइ छ । कार्यालयकी निमित्त प्रमुख दाहालले धेरै अघिबाट सुरु हुनुपर्ने सेवामा विविध कारणले ढिलाइ भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्