सडकका रुख काटिएपछि अख्तियारले थाल्यो छानविन



विराटनगर :  मोरङको सुन्दरहरैंचा नगरपालिकामा सडक डिभिजन कार्यालयको अनुमतिबिनै पूर्वपश्चिम राजमार्गको रूख कटान गरिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको  छ । 

रूख काट्न मिल्ने वा नमिल्ने र काट्नुपर्ने अवस्थामा कस्तो प्रक्रिया पूरा गर्नुपर्ने हो भन्ने प्रतिवेदन तत्काल बुझाउन सडक डिभिजन कार्यालय र वन कार्यालयलाई अख्तियारले निर्देशन दिइसकेको छ । डिभिजन सडक विराटनगरका प्रमुख शुभराज न्यौपानेले सडक सम्पत्तिको विषयमा डिभिजन सडक र कार्यान्वयन गर्ने इकाईसमेत रहेको डिभिजन वन कार्यालय मोरङसँग प्रतिवेदन माग गर्दै अख्तियारले पत्राचार गरेको जानकारी दिए ।

नगरप्रमुख शिवप्रसाद ढकालको निर्देशनमा नियम मिचेर जथाभावी रुख कटान हुन थालेको पाइएपछि छानविन थालिएको अख्तियार स्रोतले बतायो । सुन्दहरैचा नगरपालिकाले संघीय सरकारको मातहत रहेको सडकको क्षेत्र भित्रका रूख कटान गरेर बिक्री गरेको विषयमा जिल्ला प्रशासन कार्यालय मोरङले नगरपालिकासँग जानकारी मागेको छ । 

नगरपालिका क्षेत्रमा पर्ने बुढी खोलादेखि खोर्सानेसम्मको सडक खण्डका ७५ थान रूख वन कार्यालय र सडक डिभिजनको अनुमतिबिनै कटान गरेर बिक्री गरिएको छ । नगरप्रमुख ढकालको निर्देशनमा रूख कटान गरी बिक्री गरिएको बताइएको छ ।

सडकका रूख कटान गर्नुपर्ने अवस्थामा डिभिजन सडक कार्यालयले विभागमा जानकारी पठाउने र विभागले स्वीकृति प्रदान गरेपछि डिभिजन वन कार्यालयले छपान गर्नुपर्ने हुन्छ । छपान गरिसकेका रूख कटान गरेर बिक्री गरी राजस्व बाँध्नुपर्ने प्रावधान छ, तर नगरपालिकाले रातारात रूख काटेर बिक्री गरेको छ । प्रदेश १ सरकारको सडक सुशासन कार्यक्रमअन्तर्गत सडक विस्तार गर्नका लागि भन्दै नगरपालिकाले प्रक्रिया नै पूरा नगरी जजरजस्ती रूख कटान गरेको हो ।

सडक वरिपरिका वर, पीपल, सिसो, कदमलगायत प्रजातिका रूख काटिएको छ । नगरपालिकाले सरोकारवाला निकायसँगको छलफलपछि रूख कटान गरेको बताउँदै आएको छ । तर सडक छेउको रूख कति काट्नुपर्ने हुन्छ त्यसको तथ्यांक संकलन गरेर सडक डिभिजन कार्यालय विराटनगरमा जानकारी गराउनुपर्ने छलफल भएको थियो । 

सडक सुशासनका बारेमा यसअघि भएको छलफलमा प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्व, सेक्टर वन कार्यालय सलकपुरका सहायक वन अधिकृत लालबहादुर माझी र सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख शुभराज न्यौपानेको पनि उपस्थिति थियो  । तर उक्त छलफलले काट्नुपर्ने रूखको संख्या यकिन गरेर सडक डिभिजनलाई जानकारी दिने निर्णय गरेकामा त्यसविपरीत काम भएको सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख न्यौपानेले बताए ।

नियम पूरा नगरी रूख कटान भइरहेको जानकारी पाएपछि नगरपालिकालाई सडकले रूख कटान रोक्न पत्राचार गरेको थियो तर नगरपालिकाले अटेर गरेको बताइएको छ । नियमविपरीत काम भएपछि रूख काट्नेलाई कानुनी कारबाहीमा ल्याउन र काठ बरामदका लागि जिल्ला प्रशासन कार्यालय मोरङमा सडक डिभिजनले पनि पत्राचार गरेको छ । 

सडकको पत्रपछि प्रशासनले रूख कटानको विषयमा डिभिजन वन कार्यालय मोरङ र जिल्ला प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिएको छ । नगरपालिका क्षेत्रभित्र पूर्वपश्चिम राजमार्गलाई साढे ८५ फिट कायम गर्न रूख कटान गरिएको हो ।

सडक डिभिजन कार्यालयको अनुमती नै नलिई राजमार्गको रुख कटान गरी बिक्री गरिएको भन्दै सुन्दरहरैचाका स्थानीयले सो कार्यको विरोध गरेका छन् । सुन्दरहरैंचा नगरपालिकास्थित विराटचोकदेखि गोठगाउँ चोकसम्मको सडक छेउका रूख कटान गरिएपछि नियमविपरित अनुमति नै नलिई रुख काटिएको विषय बाहिर आएको हो । 

रूख कटान गरेर काठ बिक्री गरेपछि विवाद झन् बढेको छ । प्रदेश १ सरकारको सडक सुशासन कार्यक्रमअन्तर्गत सडक विस्तार गर्नका लागि सुन्दरहरैंचा नगरपालिकाले प्रक्रिया नै पूरा नगरी जवरजस्ती रूख कटान गरेको सरोकारवालाहरु बताउँछन । 

सडक आसपासका ७५ भन्दाबढी रूख कटान गरेर काठसमेत लगिसकेको स्थानीयको भनाइ छ । विराटचोक पश्चिम, सलकपुर चोक र गोठगाउँ चोकस्थित सडक वरिपरिको वर, पिपल, सिसौ, कदम लगायतका प्रजातिको रूख काटिएका हुन् । 

सडक डिभिजन प्रमुख न्यौपानेले सुन्दरहरैंचा नगरपालिकाले आयोजना गरेको छलफलमा आफू पनि सहभागी भएको स्वीकारेका छन । उनका अनुसार छलफलमा काट्नुपर्ने रूखको संख्या यकिन गरेर सडक डिभिजनलाई जानकारी दिनुपर्ने सहमति भएको थियो ।

नगरपालिकाले छलफलकै आधारमा रूख कटान गरेर सडक विस्तारको काम सुरु गरेपछि समस्या भएको उनी बताउँछन् । सडकको रूख कटान गर्नुअघि वन कार्यालयले छपान गर्नुपर्ने र त्यसपछि काटेर पुन मूल्यांकन गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । यही माघ १० गते रूख कटान भइरहेको जानकारी पाएपछि सुन्दरहरैंचा नगरलाई रूख कटान रोक्न पत्राचार गरेको समेत न्यौपानेले बताए । त्यसपछि कटान भएको रूखको काठ घाटगद्दी गर्न पहल गरेको तर त्यो हालसम्म हुन सकेको छैन । 

प्रमुख जिल्ला अधिकारी केसीले रूख कटानको विषयमा डिभिजन वन कार्यालय मोरङ र जिल्ला प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिएको बताएका छन् । सबै सरोकारवाला निकायकै मिलेमतोमा रूख कटान भएको तर स्थानीयले विरोध गरेपछि विवाद बढेको हो । सुन्दरहरैंचा नगर प्रमुख ढकाल राजमार्गलाई साढे ८५ फिट कायम गर्ने क्रममा रूख कटान भएको बताए । उनले वडा कार्यालयहरूले उपभोक्ता समिति बनाएर सडक विस्तारको काम अघि बढाएको र त्यसै क्रममा रूख कटान भएको जानकारी पाएको बताएका छन् । 

अख्तियारले वन कार्यालय सलकपुरका सहायक वन अधिकृत माझीलाई छानबिनका लागि पत्राचार गरेको छ । पत्रमा कति परिमाणको रूख कटान गरिएको र त्यसमा वन कार्यालयको स्वीकृति आवश्यक भए नभएको छानविन गरी आवश्यक कागजातसहितको प्रतिवेदन तीन दिनभित्र बुझाउन निर्देशन दिइएको छ । 

प्रतिक्रिया दिनुहोस्