प्रधानमन्त्रीको गृहनगरमा योजनैयोजना



दमक : प्रधानमन्त्री केपी ओलीको गृहनगर दमकमा विकास निर्माणका अनेकौं योजना केन्द्रित गरिएको छ । दमकको तुलनामा झापाका अन्य स्थानीय तहमा विकास निर्माणका गतिला योजना छैनन् । दमकमा राष्ट्रिय गौरवका योजनासहित नगरस्तरीय योजनाहरूमा पनि संघीय सरकारले अर्बौंको बजेट विनियोजन गरेको छ । सरकारले दमकमा पौने तीन अर्बको लागतमा भ्यु टावर निर्माणका लागि टेन्डर आहवान गरेको छ ।

दमकलाई केन्द्र बनाएर कमल गाउँपालिका र गौरादह नगरपालिकाका २२ सय बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र निर्माण योजना अघि सारिएको छ । यसका लागि अहिले जग्गाधनीलाई मुआब्जा रकम वितरण भइरहेको छ । प्रधानमन्त्री ओलीले दमकमै विश्वको अग्लो बुद्धमूर्ति निर्माण योजना पनि अघि सारेका छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाका अनुसार बुद्धमूर्तिका लागि आवश्यक जग्गा व्यवस्थापन गर्ने कार्य भइरहेको छ ।

नगरको उत्तरी क्षेत्र जंगल क्षेत्र भएकाले तीन तहको सरकारको अनुमति हुनेगरी जग्गा व्यवस्थापन गर्ने प्रक्रियामा जुटेको नगरपालिकाले जनाएको छ । प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र एवं गृहनगर भएकाले दमकले मन्त्रालयगत बजेटमा पनि विशेष प्राथमिकता पाउने गरेको छ । जिल्लामा सहरी विकास मन्त्रालयले यो वर्ष २६ योजनामा बजेट विनियोजन गरेको छ । जसमा ११ वटा दमकका मात्र छन् । सहरी मन्त्रालयले मंगलबार दमक ३ दापगाछीमा १८ तले भ्यु टावरका लागि २ अर्ब ७२ करोड लागत अनुमानसहित टेन्डर आहवान गरेको हो ।

मन्त्रालयले माघ १४ गते योजना संशोधन गरेर दमकमा सडक, नाला, पार्कलगायत पूर्वाधारका लागि यो वर्ष १० करोड रुपैयाँ विनियोजन गरेको छ । दमक बसपार्कमा दोस्रो चरणको निर्माण कार्यका लागि बहुवर्षीय योजनाअन्तर्गत तीन करोड विनियोजन गरेको छ । मन्त्रालयले दमकमा ‘एक सहर, एक पहिचान’ कार्यक्रमअन्तर्गत नगरको बजार क्षेत्र वडा ६ र ७ मा सडक, रेलिङ र सौर्यबत्ती जडानका लागि ५ करोड ७० लाख विनियोजन गरेको कान्तिपुरमा खवर छ । ।

प्रतिक्रिया दिनुहोस्