प्रधानमन्त्री ओली शीतलनिवासमा



काठमाडौं : सोमबार जारी गरेको अध्यादेश फिर्ता गर्न सहमत भएका प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भवन शीतलनिवास पुगेका छन् ।

बिहीबार साँझ प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका हुन् ।

राष्ट्रपतिका सञ्चार विज्ञ भेषराज दाहालले प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवास आउनु सामान्य कार्यक्रम जस्तै भएको बताउँछन् । यद्यपि, यो भेट अर्थपूर्ण भएको राजनीतिज्ञहरुको भनाई छ ।

नेकपाभित्र आन्तरिक छलफल नगरीक नै राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि पार्टी भित्र र बाहिर पनि चौतर्फी विरोध खेपेका प्रधानमन्त्री ओलीले बिहीबार अध्यादेश फिर्ता गर्न सहमत भएका थिए ।

प्रधानमन्त्री ओलीले बिहीबार बिहान अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल लगायतका नेतासँग अध्यादेशबारे छलफल गरेका थिए । र अध्यादेश फिर्ता गर्न तयार भएको बताएका थिए ।

यता, राष्ट्रपतिका सञ्चार विज्ञ दाहालले सरकारका कामबारे रिपोर्टिङका क्रममा यस्ता भेटघाट भइरहने बताए ।

यसैगरी, पछिल्ला दिनहरुमा भइरहेका राजनीतिक घटनाक्रमलाई लिएर कसरी अघि बढ्ने भनेर नेकपा अध्यक्ष प्रचण्ड, नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु पनि आपसी छलफलमा जुटेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्