ट्रकसहित २७५ बोरा प्याज नियन्त्रणमा



तनहुँ : व्यास नगरपालिका कार्यालयले एक ट्रकसहित २७५ बोरा प्याज, आलु र केही बोरा चामल नियन्त्रणमा लिएको छ । व्यास–३ का मुनिलाल शाहका पसलमा नगरपालिकाले बिहीबार बन्द गरी ट्रकसहित खाद्य पदार्थ नियन्त्रणमा लिएको हो ।

सामान ल्याउन प्रयोग गरिएको ग१क ३५१२ नम्बर ट्रकसमेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको नगर प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । कोभिड–१९ लाई ध्यानमा राखी नगरपालिकाले केही दिनअघिदेखि नै भारतबाट कुनै पनि सामान आयातमा रोक लगाएको छ ।

भारतको सीमाबाट उक्त सामान लुकाइछिपाई ल्याएको थाहा भएपछि नगरपालिकाको सक्रियतामा पसल बन्द गरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले बताए ।

निसङ्क्रमणमा पशुको औषधि

सदरमुकाम दमौलीस्थित दमौली अस्पताल प्रवेशद्वारमा स्थापित निसङ्डक्रमण यन्त्रमा पशुका लागि प्रयोग गरिने भिरोक एस नामको औषधि प्रयोग गरिएको पाइएको छ । जिल्ला पशुचिकित्सा कार्यालयसँग समन्वय गरी उक्त निसड्क्रमण औषधि सेनिटाइजरका रुपमा प्रयोगमा ल्याइएको दमौली अस्पतालले जनाएको छ ।

विज्ञसँंगको सल्लाहमा उक्त निसड्क्रमण औषधिको प्रयोग गरिएको र यसले मानव जीवनमा कुनै असर नगर्ने दमौली अस्पतालका प्रमुख डा सुनिल पौड्यालले जिकिर गरे ।

पछिल्लो समय ब्रोइलर कुखुरा र बङ्गुरमा एन्ट्रिभाइरलका रुपमा समेत सो औषधि खुवाउन थालिएको जिल्ला भेटेरिनरी अस्पताल तनहुँका डा बालकुमार श्रेष्ठले बताए । “निसड्क्रमण औषधि प्रयोग गर्दा कसैकसैको आँखामा परे एलर्जी हुन सक्छ । यसले मानवमा अन्य कुनै असर गर्दैन, जीवाणु मार्ने काम गर्छ, जथाभावी अफवाह फैलाउनु उचित होइन ”, उनले भने ।

प्रतिक्रिया दिनुहोस्