बर्दियाको ठाकुरबाबा नगरपालिकाको वडा नं.२ सिल



बर्दिया: भारत उत्तरप्रदेश राज्यको बहराईच जिल्लामा एक नेपालीसहित ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उच्च सर्तकता अपनाइएको छ ।

भारतसँग सिमा जोडिएको कोरोना संक्रमित बर्दियाका ठाकुरबाबा नगरपालिका वडा नं.२ को भएको पुष्टि भएपछि स्थानीय प्रशासनले शुक्रबार बिहानबाट सिल गरेको छ ।

पुरै वडा सिल गरी आउजाउ पूर्णरुपमा प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए । उनीसँगै उनका भाई भारतको कानपुरमा लकडाउन अघि मजदुरी गर्न गएका थिए ।

भाई भने गत चैत ६ गते घर फर्किए पनि दाजु नेपाल-भारत सिमाना बन्द भएपछि आउन पाएका थिएनन् । बहराइचमा रहेको क्वारेन्टाइनमा नमूना परीक्षण गर्दा बुधबार कोरोना पोजेटिभ देखिएको प्रमुख जिल्ला अधिकारी लामिछानेले जानकारी दिए ।

वडा सिल गरी उनका भाइको आरडीटी र स्वाब परीक्षणका लागि बिहानै स्वास्थ्य टोली पठाइएको छ । परीक्षणको रिर्पोट नआएसम्म उक्त वडामा पूर्णरुपमा सिल गरिएको छ । रिर्पोट नेगेटिभ आए सिल खुकुलो पार्दै जाने स्थानीय प्रशासनले जनाएको छ ।

ठाकुरद्धारा नगरपालिका भित्र औषधि बाहेक सबै पसल बन्द गरिएको छ । सुरक्षा निकाय र एम्बुलेन्स बाहेकका सवारी साधन चलेका छैनन् । अहिले जिल्लाभर उच्च सतर्कता अपनाउँदै लकडाउनलाई कडा पारिएको स्थानीय प्रशासनले जनाएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार बहराईचमा एकै पटक ८ जनालाई कोरोना पोजेटिभ भेटिएको पहिलो हो । उनीहरुको ट्रभाल हिस्ट्री लिने काम भईरहेको जनाइएको छ । ती मध्ये कोरोना पोजेटिभ भएका २ जना बर्दियास्थित पुलमा काम गरेर घर फर्केका भारतीय भएको प्रहरीले जनाएको छ ।

रुपैडिहास्थित सेल्टर क्वारेन्टाईनमा ३ जना नेपालीको नमूना परीक्षण गर्दा एक जनालाई कोरोना पोजेटिभ देखिएको हो । उनी लगायत ५० जनालाई बहराईचस्थित जिल्ला अस्पतालमा रिफर गरिएको लखनउस्थित एक प्रहरी अधिकारीले बताए । सिमावर्ती भारतको मिहीपुरुवास्थित बालिका विद्यालयमा ९ जना नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ ।

९ जना कर्णाली र प्रदेश ५ का नागरिक हुन् । उनीहरुको नमूना परीक्षण गर्दा नेगेटिभ देखिएको छ । सिमावर्ती भारतीय जिल्ला बहराईचमा कोरोना भाइरस संक्रमित देखिएपछि भारतसँग जोडिएको सिमानामा उच्च सर्तक रहन स्थानीय प्रशासनले सुरक्षाकर्मीलाई निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी लामिछानेले भारतबाट घुसपैठ रोक्न सुरक्षा निकायलाई चनाखो भएर सिमामा थप कडाई गर्न निर्देशन दिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्