अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो



काठमाडौं : विश्वव्यापी रुपमा फैलिएको कोरोनाबाट अमेरिकामा मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । शुक्रबार यो समाचार तयार पार्दासम्म विश्वभर एक लाख ९१ हजार ८७ को मृत्यु भएको छ ।

तर, अमेरिकामा मात्रै ५० हजार २४३ जनाको मृत्यु भएको छ । अमेरिकामा हरेक दिन दुई हजार बढीको मृत्यु भइरहेको छ । गएको २४ घण्टामा मात्रै अमेरिकामा दुई हजार तीन सयको मृत्यु भएको छ ।

संक्रमित संख्या पनि अमेरिका तीव्र गतिमा बढिरहेको छ । विश्भवर २७ लाख संक्रमित भएकोमा अमेरिकामा मात्रै झण्डै नौ लाख पुगेको छ ।

अमेरिका पछि बढी प्रकोप स्पेनमा देखिएको छ । दुई लाख १३ हजारमा संक्रमित देखिएको स्पेनमा २२ हजारको मृत्यु भएको छ । इटालीमा एक लाख ८९ हजार जनामा संक्रमण भएकोमा २५ हजारको मृत्यु भएको छ । अर्को यूरोपेली मुलुक फ्रान्समा बढी प्रकोप हुने चौंथो मुलुक हो ।

त्यहाँ, एक लाख ५८ हजारमा संक्रमण देखिएकोमा २१ हजारको मृत्यु भएको छ । एसियाली मुलुकमा बढी प्रकोप फैलिएको मुलुक टर्की हो । एक लाख बढीमा संक्रमण देखिएको टर्कीमा दुई हजार चार सयको मृत्यु भएको छ ।

महामारी फैलिएको मुलुक चीनले भने कोरोना नियन्त्रणमा लिएको छ । ८२ हजारमा संक्रमण देखिएको चीनमा अहिले एक हजार भन्दा कम बिरामी मात्रै निको हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्