जनकपुरका दर्जनौं मस्जिदमा सुरक्षा समुहको अनुगमन



जनकपुरधाम : जिल्ला प्रशासन कार्यालय धनुषाको टोलीले आज (शुक्रबार) नगरभित्रका दर्जनौं मस्जिदहरुमा अनुगमन गरेको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाको नेतृत्वमा जिल्लाको संयुक्त सुरक्षा समूहले मुस्लिम समुदायका अगुवाहरूसँगको समन्वयमा अनुगमन गरेका हुन् ।

मुस्लिम समुदायको अवस्था अध्ययन गर्न आग्रह भएबमोजिम मस्जिदमा अनुगमन गरिएको प्रजिअ निरौलाले जानकारी दिए ।


टोलीले नगर क्षेत्र भित्रका मस्जिदहरुको अवस्था र त्यसभित्र बसेका व्यक्तिहरुको स्वास्थ्य अवस्थाबारे समेत सोधखोज गरेको बताइएको छ ।

अनुगमनको क्रममा मस्जिदहरुमा नवाज पढ्दा पनि सामाजिक दूरी कायम गरिएको प्रजिअ निरौलाले बताए । उनले भने, ‘अनुगमनका क्रममा मुस्लिम अगुवा तथा धर्मगुरुहरू सचेत हुनुका साथै सहयोगी भूमिका समेत निर्वाह गरेका थिए । उनले यहाँका मस्जिदहरूमा अहिलेसम्म अवस्था सामान्य रहेको जानकारी दिए ।

अनुगमन टोलीले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ लादो बेलास्थित नूरी मस्जिद, दारुल उलूम अताये मुस्तफा मस्जिद, रेजा जामा मस्जिद, वडा नम्बर ४ स्थित अल्जामी अतुल कादिया मदिना तूल उलूम मस्जिद, वडा नम्बर २० रुपैठास्थित जामिया इमाम अहमद रेजा मदरसा, नूरी जामे मस्जिद, मस्जिद कादरिया, वडा नम्बर २४ बसहियास्थित कादरी बरकाती जामे मस्जिद, मदरसा फैजुल इस्लाम दायमी मदरसा, वडा नम्बर ६ स्थित मदरसा र मस्जिदमा अनुगमन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्