दोषीको पहुँचका कारण आफूले न्याय पाउँन नसकेको पिडितको भनाई



वीरगन्ज : पर्साको बहुदरमाई नगरपालिकामा टाट (पर्खाल) खसालेको आरोपमा धारिलो हतियार प्रयोग गरी घाइते बनाएको पीडितलाई पर्सा प्रहरीले अहिलेसम्म न्याय दिलाएको छैन ।

नगरपालिकाको वडा नम्बर ७ का शिव शङ्कर यादवले गत शनिवार आफ्नै छिमेकी ४५ वर्षीय प्रमीला देवीमाथि धारिलो हतियार प्रहार गरेका थिए ।

यादवले प्रहार गरेको धारिलो हतियारबाट देवीको टाउकोमा गम्भीर चोट लागेको थियो । तत्काल उनका परिवारले प्रमीलाको उद्धार गरी वीरगन्जको नेशनल मेडिकल कलेजमा उपचारको लागि भर्ना गरेका थिए ।

घटनामा संलग्न दोषीलाई पर्सा प्रहरीले अहिले सम्म पक्राउ नगरेको पीडितले आरोप लगाएका छन् । शिव शङ्कर यादव पहुँच बाला व्यक्ति भएका कारण घटना बितेका एक हप्ता हुन लाग्दा समेत प्रहरीले अहिले सम्म पक्राउ गरी कारबाहीको दायरामा नल्याएको घाइतेका श्रीमान् हृदयनारायण यादवले गुनासो गरे ।

शिव शंकर यादव प्रदेश २ का मुख्यमन्त्रीका पिए दीपक यादवका ससुरा हुन् । उनकै पहुँचका कारण प्रहरीले अहिलेसम्म दोषीलाई पक्राउ नगरेको उनको आरोप छ ।

घटना बारे ईलाका प्रहरी कार्यालय पोखरीया र जिल्ला प्रहरी कार्यालय पर्सामा जानकारी गराउँदा समेत कुनै सुनवाई नभएपछि बिहीबार लिखित रूपमै कर्तव्य ज्यान मुद्दामा पिडक विरुद्ध प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको पीडित परिवारले जानकारी गराए ।

स्थानीय एक जना अगुवाको सहयोगमा जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएका छौँ, यादवले भने, जाहेरी दर्ता गराएको २४ घण्टा हुन लाग्दा समेत प्रहरीले अहिलेसम्म कारबाहीको लागि कुनै पहल गरेको छैन ।

यता मुद्दा शाखाका प्रहरी निरीक्षक सुशील बर्तौलाले घटनामा संलग्न माथि मुद्दा दर्ता गरी पक्राउ पुर्जी जारी भइसकेको बताए । प्रहरीले पक्राउ गर्न पुर्जी जारी गरेको भने पनि दोषी खुले याम गाउँमा घुमिरहेका छन् तर अहिले सम्म प्रहरीले दोषीलाई पक्राउ गर्न नसकेको यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्