नेपालको पाँचौं कोरोना संक्रमित १९ वर्षीया किशोरी पनि डिस्चार्ज



काडमाडौं : नेपालको पाँचौं कोरोना संक्रमित १९ वर्षीया किशोरी निको भएर घर फर्किएकी छन् । एक महिना लामो आइसोलेसन बसाइपछि बागलुङकी १९ वर्षीया अंशु सापकोटा आज (शुक्रबार) घर फर्किएकी हुन् ।

उनको स्वाब परीक्षणमा लगातार दोस्रो पटक नेगेटिभ देखिएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखराकी निमित्त निर्देशक सपना सुवेदीले बताइन् । उनलाई शुक्रबार राति डिस्चार्ज गरिएको धौलागिरि अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले जनाए । त्यसअघि चार पटकसम्म उनको पोजिटिभ रिपोर्ट आएको थियो ।

बागलुङ नगरपालिका ४ कुँडुलेकी सापकोटा गत पुस तेस्रो साता बेल्जियममा आमाबाबु भेट्न गएकी थिइन् । गाउँमा हजुरबुबा, हजुरआमासँगै बस्ने सापकोटा साढे दुई महिनापछि नेपाल फर्केकी थिइन् । गत चैत ४ मा नेपाल आएकी सापकोटालाई घरमा पुगेको एक–दुई दिनमा सामान्य रुघाखोकी र ज्वरोको लक्षण देखियो । चैत १२ गते उनको स्वाब संकलन गरेर काठमाडौं पठाएपछि चैत १५ गते कोरोना भाइरस पोजिटिभ पुष्टि भयो।

उनीसँगै आएकी ६५ वर्षीय मनकुमारी पौडेललाई पनि कोरोना पोजिटिभ भएको थियो । गत शनिबार पौडेल निको भएर डिस्चार्ज भइसकेकी छन् । पौडेल र सापकोटालाई लिन गएका एक आफन्तको भने स्वाब परीक्षण नेगेटिभ आइसकेको छ।

प्रतिक्रिया दिनुहोस्