जयराम–हलेसी सडकमा खाल्डाले यात्रा जोखिमपूर्ण



खोटाङ : मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम–हलेसी सडकखण्डको च्यास्मिटारदेखि हलेसीसम्मको सडकको यात्रा जोखिमपूर्ण बनेको छ । जयराम–हलेसी (३० किलोमिटर) सडकको च्यास्मिटार–दुर्छिम–हलेसी खण्डमा खाल्डाखुल्डी बनेपछि यात्रा जोखिमपूर्ण बनेको हो ।

जयराम–हलेसी सडकको प्रहरीचौकी च्यास्मिटारदेखि बडहरे र दुर्छिमदेखि हलेसीसम्मको सडकमा कालोपत्रे उक्किएर खाल्डैखाल्डा बनेको छ । स्वच्छन्द–भगवती निर्माण सेवाले पहिलो पटक २०६७ सालमा गरेको कालोपत्रे छोटो समयमै उप्किएपछि हलेसी आउने जाने पर्यटक तथा दर्शनार्थीलाई समस्या भएको छ । 

ठेकेदारको लापरवाहीका कारण कालोपत्रे चाँडै उप्किएपछि सवारीसाधन हिँड्नै मुस्किल पर्नेगरी खाल्डाखुल्डी बनेको वडा नम्बर–३ च्यास्मिटारका वडाध्यक्ष भलाराज राईले बताए । सो सडक खण्डमा चालक छिनछिनमा भेटिने खाल्डाखुल्डी छल्दै सवारी साधन चलाउन बाध्य छन् । 

हलेसी तुवाचुङ नगरपालिकाभित्र पर्ने जयराम–हलेसी सडक राजधानीलगायतका सहर जाने र आउने एकमात्र प्रमुख मार्ग हाे । हाल सो सडकमा दैनिक हलेसी र दिक्तेल आउने–जाने सयौँ सवारी साधन ओहोरदोहोर गर्छन् ।

विशेषगरी ग्रामीण क्षेत्रका सडकमा धूलो नियन्त्रणका लागि लगाइने ओटासिल नै बाँकी नरहेपछि गाडीभित्रै धूलो छिर्ने गरेको यात्रुको गुनासो छ । २०७१ सालमा ठेक्का लगाएर जयरामदेखि च्यास्मिटारसम्म तथा बडहरे र दुर्छिमको केही भागमा मर्मत गरिए पनि बीचका अन्य खण्डमा खाल्डा बाँकी नै छन् ।

जयराम–हलेसीका विभिन्न १३ टुक्रा गरी १६ हजार ३ सय मिटर खण्ड कालोपत्रे गर्ने ठेक्का लिएको रौता कन्स्ट्रक्सनले सम्झौताअनुसारको काम पूरा गरेर हिँडिसकेको छ । सोही सडकखण्डको चिसो र हिलाम्मे हुने १७ हजार मिटर खण्डमा सूर्य कन्स्ट्रक्सनले आरसिसी ढलान र स्ट्रक्चरको काम गरिरहेको छ । 

स्थानीयका अनुसार दुर्छिमको छापडाँडा र हलेसीबीचमा पर्ने सडकमा सबैभन्दा बढी खाल्डाखुल्डी छन् । कतिपय घुम्तीमा समेत खाल्डाखुल्डी हुँदा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । कम्तीमा दश वर्ष टिक्नुपर्ने उक्त सडकखण्डको ओटासिल तीन वर्ष नपुग्दै उप्किन थालेको स्थानीयले बताएका छन् । ठेकेदारले आफ्नो फाइदाका लागि गुणस्तरहीन काम गर्न थालेपछि स्थानीयले उसबेला नै सडक सङ्घर्ष समिति गठन गरेर खबरदारी गरे पनि गुणस्तरीय हुन सकेन । 

जयरामदेखि हलेसीसम्मको सडक पिच गर्नेक्रममा ठेकेदारले बस्ती नजिकबाहेकका विभिन्न खण्डमा कालोपत्रे नै नगरी छाडेको थियो । सडकका बाँकी खण्डमा पनि कालोपत्रेको काम पूरा गर्न भन्दाभन्दै ठेकेदार भागेको स्थानीयले बताएका छन् । धार्मिक तथा पर्यटकीय स्थल हलेसी आवत–जावत गर्ने एकमात्र सडक जोखिमपूर्ण बनेपछि तत्काल पुनः मर्मत गर्न सडक विभागलाई अनुरोध गरिएको नगर प्रमुख इवन राईले बताए ।

प्रतिक्रिया दिनुहोस्